Shittalpati
दीप बालेर गए प्रदीप गिरी !

रामचन्द्र रायमाझी ‘चिन्तन’
जिन्दगीको अन्तिम सत्य भनेको नै मृत्यु हो । मान्छे र जिन्दगी बीच रस्साकस्सीको ‘फाइनल म्याच’ हो मृत्यु । आखिर मानवीय चोला जन्मेपछि मर्नु नै पर्दछ । मात्रै ढिलो या चाँडो भन्ने हो । केही मृत्यु अविस्मरणीय र अमर रहन्छ । जुन बाँचुञ्जेल जीवनमा गरेका राम्रो कर्मको फल हो । जीवनका अनेकन आरोह अवरोहबीच पछिल्लो समय क्यान्सर रोगको शिकार भएका नेपाली राजनीतिका एक उदाहरणीय व्यक्तित्व, एउटा आदर्शपात्र, दार्शनिक र बौद्धिक नेता प्रदीप गिरी उपचारकै क्रममा आफ्नो देह लीला समाप्त गर्न बाध्य भए । २००४ सालमा जन्मिएका गिरी औषत उमेरमै अस्ताउन पुगे । ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति उनको निधन भयो । काँग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य समेत रहेका गिरी घाँटीको क्यान्सरबाट पीडित थिए । उनको निधनले देशलाई ठूलो क्षति हुन पुगेको छ ।

प्रदीप गिरी कुनै एउटा पार्टीको नेता मात्र नभएर सिंगो नेपाली राजनीतिकै महान् विचारका केन्द्र र बहुमुखी प्रतिभाका धनी व्यक्तित्व थिए । समकालीन राजनीतिमा कोही त्यस्तो थियो, जसलाई पदको आशक्ति कहिल्यै भएन । बरु मन्त्री बनिन्छ कि भन्ने कुराबाट तर्सीरहयो । साहित्य र अध्यात्ममा रुचि भएपनि कर्म राजनीतिलाई नै बनाए । राजनीतिमा वैचारिक तरंग सिर्जना गर्नु र मार्गनिर्देश गर्नुको कर्मबाहेक सनातनी राजनीतिमा मोह नभएका पात्र थिए प्रदीप गिरी । जो कहिल्यै मन्त्री भएनन्, पार्टीको नेतृत्व त के पदाधिकारीभित्र पर्ने इच्छा समेत देखाएनन् । त्यस्ता विरलाकोटी राजनीतिक व्यक्ति गिरीको भौतिक शरीरले विदा लिँदा नेपालीमात्रै नभई दक्षिण एसियाली राजनीतिक वृत्तमा ठूलो रिक्तता पैदा भएको छ । यो लेखकको नेता गिरीसँगको कुनै सम्बन्ध रहेन तर पनि उनको विचार र समाज, देशप्रतिको चिन्तनको अध्ययन र देख्ने अवसर भने पायो । उनका नामका अगाडि जतिसुकै प्रशंसनीय विशेषण जोडे पनि ती अपुग नै हुन्छन् । प्रदीप गिरीले नेपाली काँग्रेस भएर काँग्रेसको राजनीतिमात्र गरेनन् कम्युनिष्टका समेत आदर्श पात्र बने । सिद्धान्तप्रति सधैभरि प्रतिवद्ध र कटिवद्ध रहेका उनले जीवनमा कहिल्यै लोभलालच र कुनै आश्वासनमा चुकेनन् । गिरीको भौतिक शरीर हामी माझ छैन तर उनले समाज र राष्ट्रलाई छोडेर गएको सत्मार्ग र योगदान भने जीवितै छ । यसर्थ अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक गिरीको व्यक्तित्व, विचार र योगदानका विषयमा केन्द्रीत रहेर यहाँ चर्चापरिर्चा गर्ने प्रयास गरिएको छ ।

राजनीतिक जीवनमा प्रवासदेखि जेलसम्म बसेका गिरिले राजनीति र समाज रूपान्तरणका लागि हरपल आवाज उठाइरहे । उनी कहिल्यै काँग्रेसमात्र बनेर बोलेनन् । आफ्नै दल सत्तामा हुँदा समेत लोकतन्त्र र सामाजिक न्यायका पक्षमा सदैव प्रश्न गरिरहे । समय र परिस्थितिको गहिरो बोध भएका उनले राष्ट्र र समाजका समस्याहरू औंल्याइरहे । देश निर्माणमा नेतृत्वलाई निरन्तर सजग गराइरहे र बाटो देखाइरहे । मृत्युलाई सहश्र स्वीकारेका र जीवनलाई राम्रोसँग बुझेका प्रदीपले अस्पतालको शैयायाबाटै जीवनको अन्तिम अवस्थामा मृत्युसँग लड्दा समेत भेट्न आउने शुभचिन्तकलाई राजनीति गर्ने हो भने इमानदार, नैतिक र निष्ठाको राजनीति गर्न आग्रह गरिरहे ।

यहाँबाट पनि उनको राजनीतिप्रतिको निष्ठा प्रकट हुन्छ । राजनीतिलाई नितान्त समाजसेवाको रुपमा लिएका प्रदीप कहिल्यै पद र प्रतिष्ठाका लागि भोका भएनन् । जहिले पनि देश र जनताको विकास र समृद्धिको लागि लेखिरहे, बोलिरहे र लडिरहे । जति बाँचे जनताका मनमनमा आदर्श भएर बाँचे । त्यसैले उनको भौतिक अनुपस्थितिले उनको पार्टी र राजनीतिवृत्तमात्रै नभई अराजनीतिक पुस्ता समेत स्तब्ध भएको छ । सबै मानिसहरुले समयको महत्व बुझ्छन् तर कार्यान्वयन गर्दैनन् । केहीले मात्रै आफू बाँचेको समयको कुरा बुझे र अरुलाई पनि बुझाए । प्रदीप पनि ती व्यक्ति हुन् जसले आफ्नो युगको कुरा बुझे र दुनियाँसामु जोडजोडले बताए । त्यस अर्थमा पनि उनी यो युगको एक बौद्धिक प्रतिनिधि पात्र बने । भनिन्छ, मानिस समयअनुसार चल्छ । तर, इतिहास कसरी बन्छ भने समयले मानिस र मानिसले समयलाई चलाइरहेका हुन्छन् । प्रदीप गिरीले आफुलाई जीवनभरि समय अनुसार नै अगाडि बढाए । त्यसैले त उनी सबैका प्रिय व्यक्तित्व बने । गिरीको भौतिक शरीर हामी माझ छैन तापनि उनको निधनमा अलबिदा भन्न पनि सकिँदैन । उनको भौतिक शरीर नभए पनि उनी साँच्चै दीप बनेर नेपाली समाजमा अन्धकारविरुद्ध चेतनाको ज्योति दिइरहेका हुने छन् । उनी निभेका छैनन् र कहिल्यै निभ्न पनि सक्दैनन् । प्रदीप गिरीका बारेमा जति लेखे पनि थोरै नै हुन्छ ।

पछिल्लो समय नेपाली राजनीतिमा विचार र सिद्धान्तको अभाव हुँदै गएको अवस्थामा प्रदीप गिरी जस्ता आदर्श पात्रको भने खडेरी पर्नेछ । आफ्नो पार्टी सरकारमा छ कि विपक्षीमा भन्ने ख्याल उनी सांसद छँदा कहिल्यै राखेनन् । पार्टी वा सरकारको नाफाघाटा नहेरिकनै संसद्मा वा सार्वजनिक मञ्चहरूमा अन्तरआत्माको आवाजमात्रै बोलिरहे । उनी आफुले पाएको मन्त्री पद समेत नखाएर, सांसद र पार्टी केन्द्रीय सदस्यमा मात्र रमाए । तर पनि उनी अरु भन्दा फरक र उच्च छविका रुपमा प्रख्यात रहे । यही सच्चरित्रका कारण पनि गिरी अमर रहिरहने छन् । उनको भौतिक शरीर हामीमाझ नभए पनि उनको विचार र दर्शन कहिल्यै मर्ने छैन । उनका विचार र दर्शनले समाज र राष्ट्रलाई उज्यालो दिइरहने छ । उनको दीप कहिल्यै निभ्ने छैन । शोकको यस घडीमा उनलाई सम्झनु फगत औपचारिकता पूरा गर्ने काम मात्र हुनु हुन्न । उनको विश्वासको उज्यालोमा राजनीतिक समुदायले आफ्नो गन्तव्य पहिल्याउने प्रण गर्नु उत्तिकै आवश्यक । उनले हिँडेको बाटो अरूका लागि अनुकरणीय छ । अनुसरणीय छ । तसर्थ स्वच्छ र निष्ठाको राजनीति गरी सेवालाई जनतामा केन्द्रित गर्ने हो भने प्रदीप गिरी हिँडेको मार्ग सही छ । त्यसलाई राजनीतिक दलहरुले पहिल्याउन सके गिरीप्रतिको सच्चा सम्मान हुनेछ ।
(लेखक यस अनलाईनका उपसम्पादक र नेपाल प्रेस युनियन पाल्पाका सचिव समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update