Shittalpati
अस्वाभाविक महँगी

दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । अहिले खाद्यान्नदेखि हरेक वस्तुहरुमा अस्वाभाविक रुपमा महँगी बढेको छ । व्यापारीहरुले केही साना बहाना पाउनु हुन्न बजारमा भाउ बढाई हाल्छन् । अहिले विश्वबजारमै इन्धन लगायत कतिपय वस्तुको मूल्यवृद्धि भएको छ, जुन नेपाली व्यापारीका निम्ति मौकामा चौका हान्ने राम्रै बहाना बनेको छ । जसको बहाना बनाएर व्यापारीहरुले बजारमा महँगी बढाएका छन् ।

दिन–प्रतिदिन आकासिंदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहे पनि सरकारले यसलाई नजरअन्दाज गरिरहेको छ । स्वाभाविक सीमाभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारको न्यूनतम दायित्व हो । तर सरकार आफ्नो दायित्व पालनाप्रति उदासीन बन्दा सर्वसाधारण मर्कामा परेका छन् । महँगीका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । बिहान–बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि पेट्रोलियम पदार्थसम्ममा भइरहेको मूल्यवृद्धिले उनीहरू आहत बनिरहेका छन् । हरवस्तुको बजार भाउ अनियन्त्रित रूपमा उकालो लागिरहेको छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्गलाई जीवन धान्न मुस्किल पर्न थालिसकेको अवस्थामा समेत सरकार मुकदर्शक बनिरहनु दुर्भाग्यपूर्ण मान्नुपर्दछ । यति बेला हामी कहाँ खाने तेल, खाद्यान्नदेखि पेट्रोलिम पदार्थ र निर्माण सामग्रीसम्मको मूल्य अकासिएको छ । व्यवसायीले आफू खुसी मूल्य तोकेका छन् । उपभोक्ताको हकहित संरक्षण गर्नुपर्ने दायित्व भएका सरकारी निकाय र अन्य संस्थाको भूमिका पनि उपयुक्त देखिएको छैन । महँगी बढ्नुको कारण जनताले थाहा पाउनुपर्छ । तर, जनतालाई गुमराहमा राखेर हरेक वस्तुमा मूल्यवृद्धि गरिएको छ । यो अत्यन्त दुखद् हो । व्यापारीले जति मूल्य तोक्यो, त्यति नै तिर्नुको विकल्प उपभोक्तासँंग छैन । चुनावी वर्ष भएकाले पनि महँगी थप आकासिन सक्ने देखिन्छ । यसैले महँगी रोक्न सरकारले निरन्तर अनुगमन गर्न जरुरी छ । अनुगमन गरी अनियमित र अस्वाभाविक मूल्यवृद्धि गर्नेउपर सरकारले कडा कारवाही गर्न अब ढिलाई गर्नु हुँदैन ।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update