Shittalpati
असंगठीत र पहिचान नखुलेकाहरुको खोजी गरी सेवा दिने

पाल्पा, जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ पाल्पाले यौनिक अल्पसंख्यक, अपाङ्गता र अन्य समुदायका नागरिकहरुलाई सहज सेवा उपलब्ध गराउने भएको छ ।

संघले अष्ट्रेलियन सरकारको सहयोगमा सञ्चालित डिएफएटी/रेस्पोण्ड परियोजनामार्फत यौनिक अल्पसंख्यक, अपाङ्गता र अन्य समुदायका नागरिकहरुलाई सहज सेवा पुर्याउने भएको हो । अहिले संगठीत रुपमा रहेका यौनिक अल्पसंख्यक, अपाङ्गता भएकाहरुलाई सेवा दिदै आएको संघले अब संगठीत हुन नसकेका र पहिचान नखुलेकाहरुको समेत खोजी गरी सहज सेवा उपलब्ध गराउने भएको छ । संघले मंगलबार जिल्लाका सरोकारवालाहरुसँग बसेर सुझाव संकलन र कार्यक्रमका विषयमा समिक्षा गर्दै आफ्नो सेवालाई आवश्यकताको आधारमा थप प्रभावकारी र सहज बनाउँदै लैजाने बताएको छ । संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले अपाङ्गता र यौनिक अल्पसंख्यकहरुको प्रजनन् स्वास्थ्य अधिकार प्रत्याभूत गर्न सबै पालिका र क्षेत्रका असंगठीत रुपमा रहेका र पहिचान खुल्न नसकेकाहरुको तथ्याङ्क लिएर आवश्यक सेवा उपलब्ध गराउने बताए । उनले सरोकारवालाहरुबाट आएको सुझावहरुलाई आत्मसाथ गर्दै सेवालाई थप विस्तार गरिने बताए । शाखा प्रवन्धक न्यौपानेले तानसेनमा रहेका सिर्जनशिल अपाङ्ग स्वावलम्बन केन्द्र र दमकडामा रहेका दृष्टिविहीन र अपाङ्गता भएकाहरुको समस्या समाधानमा आफुहरु निरन्तर लागि परेको जानकारी गराए । उनले अब छिट्टै ग्रामीण र दुरदराजमा रहेका नागरिकहरुको पहिचान गरी उनीहरुको समस्या समाधानमा संघ लाग्नेमा जोड दिए । परियोजनाको सुरुवातमा लक्षित वर्गको समस्या पहिचान गरी आधारभूत समस्या समाधानमा संघ लागे पनि अब कोरोना महामारी समेत बढ्दै गएकाले अपाङ्गता र यौनिक अल्पसंख्यकहरुको सुरक्षाका लागि स्वास्थ्य सामग्री समेत उपलब्ध गराउने प्रवन्धक न्यौपानेले बताए । संघका उपाध्यक्ष ज्योतिराज भण्डारीले सरोकारवाला निकायहरुबाट आएका सुझावहरुका आधारमा नै परियोजनालाई अगाडि बढाउने बताईन् ।

कार्यक्रममा सिर्जनशिल अपाङ्गता स्वावलम्बन केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले कुनै पनि संघसंस्थाहरुले सूचनाहरु आफ्नो वेबसाइटमा राख्दा फोटोमा नभई लिखित रुपमा राख्नुपर्ने बताए । उनले फोटोहरुमा सूचना राख्दा दृिष्टविहीनहरुले थाहा पाउन गाह्रो हुने भन्दै फोटोमा क्याप्सन भए पनि राखिदिन संघलाई आग्रह गरे । उनले अपाङ्गता र यौनिक अल्पसंख्यकहरुका क्षेत्रमा संघले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । पत्रकार कृष्ण कार्कीले स्थानीय सरकारसँग समन्वय गरेर सबै क्षेत्रका अपाङ्गता र यौनिक अल्पसंख्यकहरुको विवरण संकलन गरी काम गर्न संघलाई सुझाव दिए । संघले अपाङ्गता र यौनिक अल्पसंख्यकहरुको बेला बेलामा स्वास्थ्य परीक्षण समोत गर्दै आएको छ । उसले आगामी दिनदेखि दकडा र काजीपौवामा रहेका अपाङ्गताहरुको मासिक रुपमा निरन्तर स्वास्थ्य परीक्षण गर्दै जाने समेत बताएको छ । सोही अवसरमा संघका सदस्य माधव प्रसाद अर्याललाई सम्मान समेत गरिएको थियो । नेपाल प्रेस युनियनको हेटौंडामा सम्पन्न महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा निर्वाचित भएका अर्याललाई संघले सम्मान गरेको हो ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update