Shittalpati
पाल्पा लघुवा बस दुर्घटनाः मृतक ६ जनाकै पहिचान खुल्यो (अपडेट)

कृष्ण पोखेरल

पाल्पा, पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ । बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका – २ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने १६ जना घाईते भएका थिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपालिका– ८ मझुवाका १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका– ७ का ४० बर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका –७ की ८७ बर्षीया डिलसरी कामी, कपिलबस्तु बाणगंगा नगरपालिका –२ का ४५ वर्षीय यज्ञबहादुर (सुरज) सोमै, नवलपरासी बर्दघाट नगरपालिका –५ की २४ वर्षीया पूर्णिमा कामी र बाग्लुङ बडिगाड गाउँपालिका– १० की ५५ वर्षीया यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी एवं सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा परी घाईते भई तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारत १६ जना मध्ये ८ जनाको डिस्चार्ज भएको छ भने ८ जनाको उपचार भईरहेको छ । अस्पतालमा उपचारत घाईतेहरुमा बस चालक रुपन्देही कञ्चन गाउँपालिका– ५ का ३३ वर्षीय किशन श्रीस, गुल्मी चन्द्रकोटका ३१ वर्षीय चन्द्रबहादुर कामी, कपिलवस्तु वाणगंगा नगरपालिका– २ का ४२ वर्षीय पिताम्वर रेग्मी, बाग्लुङ पाटन नगरपालिका –१ का ३० वर्षीया टेकलाल रसाईली, रौतहट विरेन्द्र वन गाउँपालिका– ७ का २८ बर्षिय संजय कुमार ठाकुर, म्याग्दी रुमा गाउँपालिका –४ की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँकै ४ वर्षीय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका –७ का खड्क बहादुर विक रहेका छन् । उनीहरुको टाउको, ढाड, मुख, हात खुट्टामा चोटपटक लागेको छ । म्याग्दीकी सुमित्रा र देवदहका खड्क बहादुरको भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आईतबार अपरान्ह साढे ४ बजेको समयमा अकस्मात दुर्घटना भएको बस सडकबाट करीव १ सय मिटर तल खसेको पाल्पा प्रहरीले जनाएको छ । बस सडकको डिल भासिएर दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update