Shittalpati
पाल्पाका क्वारेन्टाइन प्रयोग विहिन, विदेशबाट आएका क्वारेन्टाइनमा जानै मानेन्

कृष्ण पोखरेल/रामचन्द्र रायमाझी

पाल्पा (तानसेन) । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेका छन् ।
कोरोना भाइरसको सम्भावित संक्रमण, फैलावट र त्यसबाट निम्तिन सक्ने विपद् व्यवस्थापनका लागि स्थानीय तहले निर्माण गरेपनि ती क्वारेन्टाइनहरु प्रयोग विहीन बनेका छन् । भारत तथा तेस्रो देशबाट आएका नागरिकहरु क्वारेन्टाइनमा बस्नै नमानेपछि स्थानीय तहले विद्यालय, स्वास्थ्य संस्था तथा खाली चौरलाई उपयोग गर्दै निर्माण गरेका अधिकांश क्वारेन्टाइनहरु प्रयोग विहीन बन्न पुगेका हुन् । सरकारले कोरोना भाइरस सक्रमण रोक्नका लागि एक हप्ते लकडाउन र विदेशबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न निर्देशन दिएपनि विदेशबाट धेरै व्यक्तिहरु खुलेआम घुमेका छन् । जिल्लाका दश वटा स्थानीयतहरुले ३ सयको हाराहारीमा क्वारेन्टाइन निर्माण गरे पनि ४७ वटा क्वारेन्टाइन बेड मात्र प्रयोगमा आएका छन् ।

जिल्लामा चैत्र १ गतेदेखि १४ गतेसम्म १ हजार १ सयको संख्यामा भारत लगायत तेस्रो मुलुकबाट नागरिकहरु जिल्ला प्रवेश गरेका छन् । उनीहरुबाट कोरोना संक्रमणको उच्च जोखिम रहने सम्भावना रहेकाले प्रत्येक स्थानीय सरकारहरुले क्वारेन्टाइनको व्यवस्था मिलाए पनि अधिकांश नागरिक क्वारेन्टाइनमा बस्न नमानेपछि अहिले यहाँका क्वारेनटाइन प्रयोगविहिन जस्तै बनेका हुन् ।

जिल्लामा ३ सयको संख्यामा निर्माण भएका क्वारेन्टाइन मध्ये पूर्वखोलामा १९, रामपुरमा १२, रिव्दीकोटमा ३, तानसेनमा ४, रैनादेवी छहरामा ७ र रम्भामा २ गरी ४७ जना विदेशबाट आएका नागरिक मात्र क्वारेन्टाइनमा बसेका छन् । अझै पनि विदेशबाट आएका १ हजार ५० भन्दा बढी व्यक्तिहरु आ–आफनै घरमा रहेका छन् । जसको कारण स्थानीयवासीहरु त्रसित अवस्थामा बसेका छन् । आफूहरुलाई कुनै समस्या नभएको भन्दै अधिकांश नागरिकहरु क्वारेन्टाइनमा बस्न नमानेको सम्बन्धित स्थानीय तहका प्रमुखहरु बताउँछन् ।


विदेशबाट आएका चुनौती बन्दै 

यतिबेला जिल्लामा कोरोना भाइरसको संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणलाई वैदेशिक रोजगारीबाट आएका व्यक्तिहरु चुनौती बनेका छन् । भारत लगायत तेस्रो मुलकबाट गाउँ र शहरमा भित्रिएकाहरु खुलेआम हिंडडुल गर्न थालेपछि उनीहरुलाई क्वारेन्टाइन र घरमै राख्ने चुनौती थपिएको छ । जनप्रतिनिधिहरु, चिकित्सक, स्थानीयतहका स्वास्थ्यकर्मीहरु सहित आमनागरिकलाई भारत सहित अन्य देशबाट घर फर्किएकाहरु क्वारेन्टाइनमा राख्न सकस भएको छ । गाउँपालिकाभित्र चैत्र १ गते देखी १३ गतेसम्म विदेशबाट आएका व्यक्तिहरुको नामावली सहित विवरण तयार गरेका छौं तर चैत्र ११ गतेदेखि गाउँपालिका भित्र विदेशबाट आएका व्यक्तिहरुलाई गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको र अन्य व्यक्तिहरुलाई घरकै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

रैनादेवी छहरामा स्वास्थ्यकर्मीको निगरानीमा ७ जना व्यक्तिहरुलाई वडा ३ को एक खाली घर र स्कूलमा क्वारेन्टाइन निर्माण गरी राखिएको अध्यक्ष कार्कीले जानकारी दिए । सेल्फ क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा ज्वरो आएमा वा संक्रमणका लक्षण देखापरेमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको स्थानीयतहका प्रमुखहरुले बताए । जिल्लाका १० वटै स्थानीयतहमा विदेशबाट आएका मध्ये चैत्र ११ गतेदेखि यता आएका नागरिकहरुलाई मात्र अनिवार्य स्थानीयतहको क्वारेन्टाइनमा बस्नुपर्ने, त्यो भन्दा पहिले नै विदेशबाट आइसकेका व्यक्तिहरु घरमै सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । उनले भने ‘विदेशबाट आएका सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न सम्भव छैनन् ।’


सिमानासँग जोडिएका स्थानीय तह उच्च जोखिममा 

तराइको सिमानासँग जोडिएका तिनाउ, माथागढी, रैनादेवी छहरा र निस्दी गाउँपालिकाको बाटो भएर विभिन्न नाकाहरुबाट लुकिछिपी मानिसहरु प्रवेश गर्ने गरेका छन् । जसले गर्दा कोरोना संक्रमणको जोखिम रहने भन्दै स्थानीयवासीहरुले चिन्ता व्यक्त गरेका छन् । सबै नाकामा सुरक्षाकर्मीहरु परिचालन गर्न नसकिएको र स्थानीयबाट मात्र आवतजावत नियन्त्रण हुन नसकेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले बताए । मंगलबार राति भारताबाट कैलाली नाका हँुदै जिल्लाको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका र बाग्लुङका गरी ३७ जनालाई तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण पश्चात सम्बन्धित स्थानीय सरकारको जिम्मा लगाइएको छ । उनीहरुमा संक्रमणको लक्षण देखा नपरेकाले क्वारेन्टाइनमा बस्ने शर्तमा सम्बन्धित क्षेत्रमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update