Shittalpati
वाणी, बोली र समृद्धि

विष्णु घर्ती ‘भनभनेली’
कोही अरु कसैका वाणीमा बहेली खेल्दै पौडिएका छन् त कोही रमाइरहेका रङ्गिला रस र रङ्गमा । अलि सफा देखिदैन हाम्रो मानसिकता । सधै लागू नहुन पनि सक्दो रहेछ विद्वान तथा पढे लेखेकाले मात्र विवेकशील विचार गर्छन् भन्ने भनाई । विज्ञताका वाणीमा बहादुरीता झल्किन्थ्यो ऋषिमुनिहरूका पालामा । सोही बहादुरीपन वाणीले कार्यसम्पादन हुन्थ्यो त्यस बेलाको । वाणीको ताकतका सामु केही गल्दैनथ्यो बाणको । त्यसैले समाज परिवर्तनका सम्वाहक बन्दछन् वजनदार वाणीहरू । हिजोका वाणीको महत्व उजागर हुँदै आएको छ वर्तमानको विरासतमा । रुपमा फरकपना होला तर वाणीको बल बलियो नै देखिन्छ सारमा । उहिलेका वाणी र अहिलेका वाणी धर्ती आकाश समान छन् । ऊ बेला बोले पुग्थ्यो भने यो बेलाका बोलीहरू बरालिएका छन् त्यसै त्यसै । भनिन्छ फर्कन जान्दैनन् बन्दूकका गोली र बलिया बोलीले । गोलीको गोल र बोलीको बोल उस्तै उस्तै हो भन्लान् पनि कसैले । न गोलीको बल छ बोलीमा न त बोलीको बल गोलीमा । एउटा गोली बराबर एउटा बोली हुनै नसक्ने कुरा हो कहिल्यै पनि । एउटा गोलीले एउटालाई मात्र मार्न सक्तछ भने एउटा बोलीले धेरैलाई सिध्याउँन मात्रै होइन काफी हुन्छ बचाउँन पनि । गोलीको घाउ निको होला मल्हम पट्टीले । मृत्युपर्यन्त पुस्तौपछि बल्ल मेटिएला तुच्छ बोलीको घाउ । उच्चकोटीका बोलीले पाउँछन् अमरत्व । फैलन्छन् दिग्दिगन्त । गोलीको प्रभाव केवल दर्द मात्र हो भने तुच्छता र उच्चता दुबै हो बोलीको प्रभाव । त्यसैले गोलीभन्दा धेरै माथी छ भनिएको हो बोलीलाई । प्रेरणादायी पलहरूको पारख गरिरहन्छ जसले र जहिले पनि ।
पुस्तौपुस्तासम्म सरिरहन्छन् गुनका वाणीहरू । यस किसिमका शक्तिशाली वाणीलाई बाजीमा लगाइएको पाइन्छ आजकल । वाणीमा कम विश्वास र गोलीजस्ता बानीमा जगाइन्छ अधिक आस्था । गरिन्छन् लगानी अत्यधिक यस्तैमा । फल्लान् कस्ता फल † गरिन्छन् आशा र भरोसा झन् उस्तै दुरुस्तै । बारीमा जौं छरेर फाँटैको धान फल्ला भनेर । सामाजिक हलचलमा हार्दिकता भएको पाइदैन, देखिदैन हालैका खबरहरूलाई नियाल्दा । हार्दिक शुभकामनाले सजाइन्छ हाम्रा जस्तासुकै कुरा बोल्नेलाई पनि । बरु हान्नेको हाँक दिइन्छ । देखाइन्छ अरुका राम्रा कुरा बोल्नेलाई । यस्तै यस्तै बबण्डरमा बाँडिएको छ वर्तमान । वाचन गरेर यथार्थमा पुग्नुको सट्टा अन्धविश्वास गर्दै बर्बराउने चलन बढेको छ आफ्ना भनिएकाहरूको वाणीमा । यसो होइन अब । जरुरी भइसकेको छ हाम्रा सोंचमा परिवर्तन ल्याउँन । सोंच हुनु पर्दछ सकारात्मक बोलीको । अभिवृद्धि गर्नै पर्दछ यस्ता सोंचहरूको । आजको आवश्यकता हो यस किसिमको वातावरण सिर्जना गर्नु । यस्ता खालका सकारात्मक सोंचको परिपूर्ति गर्न अवश्य सकिन्छ अविचलित बोलीको निरन्तरताले । हामी सबैको बुझाई हुनै पर्दछ आज यस्तै । चिन्तन, मनन, अध्ययन, अनुसन्धान गर्ने संस्कार स्थापित गर्दै लाने हो सामाजिक रुपान्तरणका खातिर । समग्रमा सकारात्मक सोंचको अभिवृद्धि गर्ने हो मूख्य उद्देश्य तथा लक्ष । यदि यस सत्कार्यले साकार रुप लिएको खण्डमा पक्कै पनि गोली चलाउने बोली र वचनहरू वास्तविकतामा फिर्ने छन् । यथार्थ बोलीमा छिर्ने छन् ।ढिला नै किन नहोस् सही बोली सर्दै जाने छ । यसले बासनाको रुप लिने छ ।
यही बासनाले परिवर्तन ल्याउने छ विद्यमान सोंचमा । त्यो सोच, विचार र बोली हुने छ अधिकत्तम सकारात्मक । गोलीमा विश्वास गर्नेहरू बोलीमा हुने छन् बढी आस्थावान । मुर्झाउने छन् अनावश्यक कुरा काट्न बोलीेहरू । जुर्मुराउने छन् सकारात्मक कुरा साट्नेहरू । तथ्यमा आधारित मात्रै गरिने छन् कुराहरू । सत्यका अनुयायी बुद्धका वाणी सारिने छन् दिव्य उपदेशहरू । अन्य लयको अन्त्य र जचनवद्ध वाचनको लयले पाउने छ अनन्तता अनि निरन्तरता । बुद्ध वाणीले युक्त मनहरूको हुने छ बृद्धि । यसरी छाउने छ सबैतिर समृद्धि । कामना समृद्धिको गरे ता पनि भावना त्यस्तो देखिदैन आजकल । यसै हुनाले जहाँ बुद्धुहरू बढेको आंकलन गरिएको छ । बुद्धुहरूको वृद्धिले धेरैलाई बोधो बनाएको छ पनि भनिन्छ । बुद्ध मनमा रुपान्तरित स्वरुप हो सकारात्मक सोंचको अभिवृद्धि । बुद्ध नै नहौला हामी तर बुद्धझैं नबन्न नसकिने के छ र यहाँ † यही हो सकारात्मक सोच, समृद्धि र वचन वद्ध बोलीको सार ।(लेखक बगनासकाली गाउँपालिका पाल्पाका प्रमुख प्रशासकिय अधिकृत समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update