Shittalpati
कृषकलाई अनुदानमा हाते ट्याक्टर

पाल्पा, रामपुरका कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ । हराभरा महिला कृषि सहकारी संस्था रामपुरले रामपुर नगर सरकारको सहयोगमा यहाँका कृषकलाई हाते ट्याक्टर दिएको हो । धान खेति पकेट विकास कार्यक्रममा सहभागी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरिएको सहकारीले जनाएको छ । शनिबार कृषकलाई एक औपचारिक कार्यक्रमका बिच ट्याक्टर दिइएको हो । २२ हर्स पावरको एक, नौं हर्स पावरको छ र सात हर्ष पावरको चार वटा गरी ११ वटा हातेट्याक्टर प्रदान गरिएको छ ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले संयुक्त रुपमा कृषकलाई ट्याक्टर हस्तान्तरण गरेका थिए । ट्याक्टर हस्तान्तरण गर्दै उपप्रमुख थापाले व्यवसायिक कृषिमार्फत रामपुरलाई आत्मनिर्भर बनाउन अनुदानमा विभिन्न किसिमका कृषि सामग्रीहरु वितरण गरिएको बताईन् । उनले कृषकहरुलाई व्यवसायिक बन्नुपर्नेमा जोड दिदै आवश्यक सहयोगका लागि नगर सरकार सधै तयार रहेको बताईन् । प्रमुख प्रशासकिय अधिकृत सुवेदीले परम्परागत कृषिलाई आधुनिकिकरण गर्न सहकारीमार्फत अनुदानमा कृषि सामग्री दिइएको बताए । नगरपालिकाका प्रवक्ता तथा १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले नगरलाई विभिन्न कृषि पकेट क्षेत्रका रुपमा नगर सरकारले काम गर्दै आएको बताए । उनले आगामी दिनमा पनि नगरलाई कृषि क्षेत्रबाटै विकास र विस्तार गर्ने गरी कार्यक्रम र योजना ल्याइएको बताए । रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारीले वडालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि अहिले अदुवा बेसार खेती र धान खेती प्रवद्र्धनको कार्यक्रम सञ्चालन गरिएको बताए । उनले बाँदर प्रभावित क्षेत्रमा अकबरे खुर्सानी खेतीको परीक्षण गरी व्यवसायिक रुपमा अगाडि बढाउन थालिएको बताए । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गा देवी गौतम, रामपुर ७ का वडा सदस्य खेमराज अधिकारी, नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल लगायतले अनुदानमा पाएका कृषि सामग्रीको अधिकतम प्रयोग गरी काम गर्न कृषकलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update