Shittalpati
असारे पन्ध्रः पाल्पामा ४२ प्रतिशत रोपाइँ

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पा सहित देशभर असार १५ अर्थात् १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ । मंगलबार धान रोपाईं सँगै दही र चिउरा खाई धान दिवस मनाइएको हो । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो ।

असार महिना किसानका लागि ‘मानो छरेर मुरी उब्जाउने’ समय भनेर चिनिन्छ । नेपालको मुख्य खाद्यान्न बाली धान हो । यसको रोपाइँ पनि यही महिनामा हुने भएकाले यतिबेला किसानको दैनिक फेरिएको छ । उनीहरु बिहानदेखि साँझसम्म खेतमै व्यस्त देखिन्छन् । असार लागेसँगै पाल्पाका विभिन्न ठाउँमा रोपाइँ भइरहेको छ । यहाँ असारको मध्यसम्म करिब ४२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । जिल्लाका सबैजसो स्थानमा रोपाइँ भइरहेको छ । बाँझो रहेका, पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा रोपाइँ भइरहेको कृषिज्ञान केन्द्र पाल्पाले जनाएको छ । जिल्लामा असारको पहिलो हप्ताबाट नै धान रोपाइँ भएको हो । कृषि ज्ञानकेन्द्रले मंगलबार धान दिवसका अवसरमा जिल्लाको पूर्वखोला गाउँपालिका–३ रिङ्नेरहमा विशेष रोपाइँ महोत्सव तथा धान दिवस मनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खानाल, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारी, भेटनरी अस्पतालका प्रमुख डा.चन्द्र राना, कृषि सामग्री कम्पनीका प्रमुख सुमन पन्थी, वडा अध्यक्षहरु लगायतको उपस्थितीमा धान दिवस मनाइएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रामसुरत पालले बताए । कार्यक्रममा सहभागीहरुले खेतमै धान रोप्दै असारे गित गाउँदै धान दिवस मनाएका थिए ।

यतिबेला जिल्लाका अधिकाश ठूला ठूला फाँटहरुमा किसानहरु रोपाइँमा व्यस्त भएका छन् । ‘मानो छरेर मुरी उब्जाउने’ समय भएकाले पनि जिल्लाका किसानहरुलाई भ्याई नभ्याई भएको हो । यहाँका अधिकांस स्थानका किनाहरुले आधुनिक कृषियन्त्रहरुको प्रयोग गरेका छन् भने टारी खेतहरुमा अझै पनि हल गोरु लगाएर रोपाइँ गर्ने प्रचलन पाल्पामा रहेको छ । पाल्पाका ठूला फाँटहरु रामपुर, झडेवा, माँडी, कचल, अर्गली, हुंगी, सर्देवा, छेर्लुङ्ग चहला फाँटहरुमा प्रशस्त मात्रामा धान खेती हुने गरेको छ । अहिले पानी परेकाले यहाँका टारी खेतहरुमा पनि रोपाइँ सुरु भएको छ । गाउँघरमा परिवारका सदस्यहरु मिलेर, ज्यालादारी गरेर अर्म पर्म गर्दै कृषकहरु खेतीपातीमा जुटेका छन् । जिल्लाको ८ हजार ६ सय २० हेक्टरमा धान खेति हुने गरेको कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत मिलन गैरेले बताए । उनका अनुसार अहिले माथागढीको झेडवा, सराई फाँट, तानसेनको अर्गली, माडीफाँट, पूर्वखोलाको रिङनेरह, रामपुर, तिनाउ, रैनादेवी छहराका फाँटहरुमा धामाधम रोपाइँ भइरहेको छ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update