Shittalpati
सुरक्षित हवाई उडानमा ध्यान देऊ

नेपालमा विमान दुर्घटना पटक–पटक दोहोरिने गरेका छन् । आइतबार पनि मुस्ताङको थासाङ गाउँपालिकाको सानुसरे भीरमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भयो । तारा एयरको पोखराबाट जोमसोमतर्फ जाँदै गरेको विमान प्रतिकूल मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ । विमान दुर्घटना आफैमा हृदयविदारक एवं पीडादायी घटना हो । यस्ता घटना पटक पटक दोहोरिनु दुखद् हो । यस्ता घटनाले पीडितका परिवारको लागि ठूलो दुखद् घटना त हो नै यसले समग्रमा मुलुकको हवाई उड्डयनको क्षेत्रमा समेत निकै गम्भीर असर पु¥याइरहेको छ । यसको प्रत्यक्ष मार मुलुकको पर्यटन लगायतका वैदेशिक मुद्रा आर्जन गर्ने उद्योगहरूमा देखिएको छ । धनजन, मानवीय पीडालगायतका क्षति न्यूनीकरणका अतिरिक्त सकारात्मक हवाई छवि निर्माणका निम्ति पनि हवाई दुर्घटना हुन नदिन आवश्यक प्रशासनिक, प्राविधिक, सुरक्षात्मक उपायहरू अवलम्बन गर्न अब ढिला भइसकेको छ । हुन त हवाई दुर्घटनापिच्छे जाँचबुझ समितिको गठन त भइरहन्छ तर यी जाँचबुझ समितिले दुर्घटना न्यूनीकरणका लागि सिफारिस गर्ने विभिन्न उपायका साथै कदमहरूको परिपालनामा भने खासै सचेतता एवं तदारुकता देखाएको पाइँदैन ।

नेपाल नागरिक उड्यान प्राधिकरणले तोकेका मापदण्डहरू पालना नहुनु, निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले दबाबमा पनि उडान भर्न लगाउनुलगायत कारण यस्ता दुर्घटना हुने गरेको विज्ञहरूले आंैल्याउँदै आएका छन् तर यसतर्फ प्राधिकरणले जसरी चासो दिएर काम गर्नुपर्ने हो, गरेको देखिन्न । आइतबारको दुर्घटनापछि भने मौसम यकिन नगरी उडान अनुमति नदिने जुन निर्णय आएको छ, ढिला भए पनि स्वागतयोग्य मान्नुपर्छ । यो निर्णयले पनि मौसम खराबीलाई ख्याल नगरी जोखिमपूर्ण उडान हुने गरेको, निजी कम्पनीहरूले दबाबमा उडान गर्न लगाउने गरेको भन्ने तर्कलाई भने पुष्टिका लागि मद्दत गरेको छ । हवाई उड्ययन व्यवसाय मात्र नभई मानवीय जीवनसँग प्रत्यक्ष सम्बन्धित भएकाले पनि यसलाई थप सुरक्षित बनाउनतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update