Shittalpati
गणतन्त्र दिवसको औचित्य

आज १५ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नेपालमा जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मान्ने गरिएको छ । आजको यो दिन नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी र ऐतिहासिक दिन हो । यो नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २४० वर्षे जहानिया शासनको अन्त्य गर्दै जनताको जीत भएको दिन पनि हो । यो जित भएको समय १४ वर्ष बितिसक्यो । गणतन्त्रका उपलब्धि संस्थागत गर्ने सवालमा यत्तिका अवधिलाई कम मान्न सकिन्न । तर, यसबीच राज्यले आफ्ना अवयवमा गणतन्त्रलाई कति प्रसार गर्न सक्यो, गणतन्त्रको प्रत्याभूति जनताले के–कति अनुभूति गर्न सके भनी प्रश्न उठाइयो भने जवाफ सकारात्मक आउने अवस्था अझै बनेको छैन । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै स्वरूपमा देशले गणतन्त्रलाई आमजनतामाझ प्रत्याभूत गराउन सकेकै छैन । उल्टै, राज्य सञ्चालक तथा आफूलाई लोकतन्त्रको रक्षक र सारथि ठान्ने राजनीतिक दल तथा दलका नेताहरूमा कुनै न कुनै रूपमा सामन्ती सोच, संस्कार र व्यवहार हुर्किंदै गएको अनुभूति हुन्छ ।

मुलुकमा जनताको शासन स्थापित भई राजाको स्थानमा जनताका छोराछोरी राष्ट्रपति र उपराष्ट्रपति बने । तर, दुर्भाग्य मुलुकमा गणतन्त्र आए पनि व्यवहारमा शासकका मनोवृत्ति भने गणतान्त्रिक बन्न सकिरहेको छैन । जनस्तरमा महशुस हुने गरी गणतन्त्र फस्टाउन सकेन । गणतन्त्र दिवस मनाउनु राम्रो कुरा हो । तर, गणतन्त्रलाई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अनुवाद गर्ने कुरा चानचुने छैन । राजनीतिक दलका नेता÷सरकारहरूका क्रियाकलाप लोकतन्त्र र गणतन्त्र सुहाउँदा हुन सकेका छैनन् । कैयौं स्वेच्छाचारी निर्णय गर्ने, जनताको हित र कल्याणभन्दा सत्तामूखी हुने प्रवृत्ति नै अझै हाबी छ । शासन व्यवस्था लोकतान्त्रिक छ । तर, राजनीतिक नेतृत्वको चरित्र लोकतान्त्रिक हुन सकेन यो अत्यन्त दुःखको कुरा हो । राजतन्त्र फालेर मुलुक गणतन्त्रमय हुनु राजनीतिका दृष्टिले महत्वपूर्ण उपलब्धी हो । तर, जबसम्म जनस्तरमा त्यो परिवर्तनको अनुभूति हुन सक्दैन, त्यसको कुनै औचित्य पनि हुँदैन । त्यो उपलब्धि ल्याउनका लागि बलिदान हुने सपुतहरूको उत्सर्गको पनि अवमूल्यन भइरहन्छ । अब पनि राजनीतिक आन्दोलनमै फसिरहने समय हामीसँग छैन । दलहरूको नेतृत्वदायी ओहोदामा बसेका शीर्ष नेतृत्वले लोकतन्त्र, गणतन्त्रको कुरा भाषण वा दस्तावेजहरूमा मात्रै नगरी व्यवहारमै अपनाउनु अनिवार्य छ । आफ्ना प्रवृत्तिहरूमा मात्रै परिवर्तन गर्ने होइन, नीतिहरूमा आर्थिक विकास र समृद्धि उन्मुख हुुनु जरुरी छ । नबिर्सिऊँ, जनताको जीवनमा गणतन्त्रले परिवर्तन ल्याउन सके वा आमजनताले त्यो परिवर्तन महशुस गर्न सके मात्रै गणतन्त्र दिवसको औचित्य सिद्ध हुन्छ ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update