Shittalpati
तानसेन नगर प्रमुखका चुनौती

स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । परिणाम आएपछि जनप्रतिनिधिहरु बधाइ खाने माला र खादा लगाउने काममा व्यस्त छन् । उनीहरुका लागि अझै केही समय यस्तै काममा बित्ने देखिन्छ । त्यसो त यस अघिका निर्वाचित जनप्रतिनिधिहरुले पनि यस्तै समय बिताएका थिए । अहिलेपनि केही दिन फुलमालामा बित्ने निश्चित छ । पाल्पाको दश वटा स्थानीय तह मध्ये जिल्लाको सदरमुकाम तानसेनलाई अलि बढी महत्वका साथ हेरिएको छ । यहाँ २५ वर्षदेखि एमालेले सञ्चालन गर्दै आएको तानसेन नगर सरकार काँग्रेसले हात पारेको छ । उसले पाँच दलीय गठबन्धनको साथ लिएर आफ्नो पक्षमा पारेको छ । वर्षौसम्म एउटै पार्टी र एउटै व्यक्तिबाट सञ्चालन हुँदै आएको नगर सरकारको नेतृत्व अहिले सन्तोषलाल श्रेष्ठले लिएका छन् । उनी शैक्षिक र प्रशासनिक क्षेत्रमा अब्बल व्यक्तिका रुपमा ठहरिन्छन् । यस कारण पनि यहाँका नागरिकले उनीबाट ठूलो आशा र अपेक्षा समेत गरेका छन् । वर्षौदेखि हुन नसेका काम र तानसेनका जल्दोबल्दो समस्या समाधानमा नगर प्रमुख श्रेष्ठलाई ठूलो चुनौती पनि छ । उनले यो चुनौतीलाई कसरी सामना गर्न सक्छन् । त्यो आगामी दिनले नै देखाउने छ । जनताको घरदैलोमा पुगेर काम गर्नुपर्ने विकासका धेरै योजना ल्याएर समृद्ध नगर बनाउनुपर्ने दायित्वलाई नगर प्रमुखले समयमै बुझ्नुपर्छ । उनले चुनौतीलाई सम्भावनामा रूपान्तरण गर्दै प्राप्त अवसरलाई बुद्धिमत्तापूर्वक सदुपयोग गर्न सक्नुपर्छ ।

जिल्लाको सदरमुकाममा रहेको तानसेन बजार र जनसंख्याको हिसाबले पनि सबै भन्दा ठूलो नगर हो । जुन विगत केही समययता निकै अव्यवस्थित सहरीकरणको रुपमा देख्न सकिन्छ । नगरलाई सुन्दर र व्यवस्थित बनाउनुपर्ने दायित्व अब नगर प्रमुख श्रेष्ठको काँधमा आएको छ । पार्किङ व्यवस्थापन, खानेपानी, सडक स्तरन्नोति गर्ने लगायत यहाँका वर्षौदेखिका समस्या हुन् । ति समस्या समाधान गर्नु नगर प्रमुखका लागि चुनौती छ । यहाँ महत्वपूर्ण पर्यटकीयस्थलहरु रहेका छन्, त्यसका लागि यहाँका क्षेत्रलाई सुन्दर, सफा र हराभरा बनाउनुपर्ने नगरको दायित्व छ । नगरमा फोहोर व्यवस्थापनको समस्या जल्दोबल्दो छ, जसलाई आजसम्म सही ढङ्गले कार्यान्वयन गर्न सकिएको छैन । एकातिर महँगी बढिरहेको छ भने अर्कोतिर रोजगारीको अवसरसमेत कम हुँदै गएको सन्दर्भमा आत्मनिर्भरतालाई बढवा दिने गरी नगरपालिकाले नीति निर्माण गर्नुपर्ने देखिन्छ । त्यसका लागि सार्वजनिक जग्गाहरुको सदुपयोगसँगै जग्गा खण्डीकरण हुनबाट बचाउँदै, बाँझा जमिनहरुलाई हराभरा बनाउनेतर्फ नगर प्रमुखले सोच्नुपर्छ । नगर प्रमुख सबैका साझा भएकाले यहाँको विकास र समृद्धिमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्छ । निर्वाचन अघिसम्म कुनै दलविशेषको उम्मेदवार बनिरहँदा कसैप्रति आग्रह र पूर्वाग्रहबाट प्रस्तुत हुँदा पनि सुहाउन सक्थ्यो होला । तर निर्वाचन सम्पन्न भई जनप्रतिनिधिको जिम्मेवारी प्राप्त गरिसकेपछि आम जनताको साझा व्यक्तित्वको रुपमा नगर प्रमुखले आफूलाई उभ्याउन सक्नुपर्छ ।

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update