Shittalpati
विद्यार्थीको भविष्यमाथि खेलबाड नगर

नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दा समेत पाठ्यपुस्तक पर्याप्त रुपमा भित्रिएका छैनन् । पाल्पासहित देशभर पठनपाठन सुरु भएपनि विद्यार्थीले पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि पाठ्यपुस्तकहरु समयमै उपलब्ध मात्रै नभएका होइनन्, अझ छिट्टै नै त्यसको परिपूर्ति हुने सम्भावना पनि त्यति देखिएको छैन । विद्यार्थी किताब बिना खाली झोला बोकेर विद्यालय धाइरहेका छन् । भर्नासँगैसँगै पढाइ पनि सुचारू भैरहेको अवस्था एकप्रकारले हेर्दा सामान्य देखिए पनि पाठ्यपुस्तकको अपर्याप्तता भने निकै खड्किँदो विषयका रुपमा प्रकट हुनु विडम्बना हो । लाखौँ विद्यार्थीहरुले शैक्षिक सत्र आरम्भ भैसक्दा पनि पढ्ने पुस्तक नै नपाउनु भने निकै दुःखद अवस्था हो । पाठ्यपुस्तक प्रकाशन गर्ने अधिकार पाएका सरकारी र निजी मुद्रण संस्था दुवैले पाठ्यपुस्तक पहिल्यै छापिसक्नुपर्ने हो तर अहिले सम्म पनि नछापेपछि विद्यार्थीहरु मर्कामा परेका छन् ।

पुस्तक छाप्ने मुख्य जिम्मेवारी सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्रको हो । तर उसले स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त रहेकाले छपाईमा ढिला भएको दावी गरेको छ । तर्क र बहाना जे गरे पनि पाठ्यपुस्तक छपाइमा ढिला गर्न उसलाई छुट छैन । किन कि लाखौं विद्यार्थीहरुको भविष्यसँग जोडिएको विषय हो यो । बहाना देखाएर विद्यार्थीको भविष्य माथि नै खेलबाड गर्ने कार्यमा सम्बन्धित निकाय पन्छिनेतर्फ लाग्नु जिम्मेवार ठहरिँदैन । विगतका वर्षहरुमा पनि नयाँ शैक्षिक सत्र सुरू भएको झण्डै तीन–चार महिनासम्म पाठ्यपुस्तकको अभाव नदेखिएको भने होइन, तर यसपल्ट त्यो समस्या थप विकराल बन्ने सम्भावनालाई नकार्न सकिँदैन । शैक्षिक सत्र सुरू भएको आधा समयसम्म विद्यार्थीहरुले पाठ्यपुस्तकबाट वञ्चित हुनुपर्ने अवस्थालाई हेर्दा विद्यार्थीको भविष्य माथि नै खेलवाड गरिएको प्रतित हुन्छ । अब्बल वर्गका विद्यार्थीहरुले त जसोतसो पाठ्यक्रमको अभावमा पनि शैक्षिक सुधार गर्लान्, तर मध्यम र सामान्यस्तरका विद्यार्थीका लागि यो ठूलो समस्या नै हो । यसर्थ यथासमयमै पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थीहरुको भविष्यमाथि नै हुन सक्ने क्षतिलाई सम्बन्धित निकायले गम्भीर रुपमा लिन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update