Shittalpati
कागजी खोस्टो नबनोस् नीति तथा कार्यक्रम

हरेक वर्ष जस्तै सार्वजनिक गरिने नीति तथा कार्यक्रम यस वर्ष पनि सार्वजनिक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ आर्थिक वर्षमा ल्याउने बजेटका लागि मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसदीय परम्परा अनुरुप नै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । सरकारको नीति तथा कार्यक्रम हेर्दा मुलुक समुन्नत र समृद्ध बन्ने देखिन्छ । तर जेठ १५ अघि अर्थमन्त्रीले सार्वजनिक गर्ने आर्थिक प्रतिवेदनमा भने आम नेपालीलाई पुनः निराशा बनाउने गर्छ । किन भने त्यहाँ अधिकांश यि कुराहरु प्राथमिकतामा पर्दैनन् । यो परम्परा पञ्चायतकालदेखि चलिआएको हो । यो निरन्तरताकै रूपमा हरेक वर्षझै यसपाली पनि नीति तथा कार्यक्रम आएको होइन भन्ने छाप पार्न चाहीँ सरकारलाई चुनौती छ । त्यो चुनौतीमा खरो उत्रन सक्यो भने मात्र सरकारले नयाँ केही गर्‍यो भन्ने सन्देश जान्छ ।

अहिले नीति तथा कार्यक्रमले नछोएको र ‘सम्बोधन नगरेको’ सायद कुनै विषय नै छैन । मानौं सरकारले हरेक वर्ष जेठ १५ अघि नीति तथा कार्यक्रमरुपी सपना बाँडिरहेको छ । जनताको भोगाई र सरकारको सुगा रटाई कागजको खोस्टोमा सीमित हुँदै आएको छ । हरेक वर्ष ‘कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गरिनेछ’ भन्ने वाक्यांश सरकारको नीतिमा छुट्दैन । तर चालू आर्थिक वर्षको नौ महिनामा ६० अर्ब रुपैयाँ बराबरको मकै कोदोसहित खाद्यान्न भित्रिएको कुरालाई हरेक वर्षका नीति तथा कार्यक्रमले गिज्याउन्छ । अघिल्लो सरकारले पनि यस्तै ‘नीति’ लिएको थियो । तर भनाइ र गराईमा आकाश पातालको फरक देखियो । अहिले पनि कतै त्यस्तो त हुँदैन भन्ने शंका गर्न सकिन्छ । सरकारले ल्याउने नीति तथा कार्यक्रम सुन्दा कर्णप्रिय मात्रै नबनोस् भन्ने कामना हरेक वर्ष नै गर्दै आउनु परेको छ । विद्युत खपत बढाउने, चार्जिङ स्टेसन बनाउने, ग्यासलाई विस्थापित गरी विद्युतीय चुलोको प्रयोग वृद्धि गर्ने जस्ता कार्यक्रम आफैमा कर्णपप्रिय छन् । तत्काल गरिहाल्नुपर्ने काम पनि हुन् । यसै पनि इन्धनको मूल्यवृद्धिले हरेक नेपालीलाई मारमा पारेको छ । तर सरकारले भनेका यी काम गर्न ऊ कति गम्भीर भएर लाग्छ ? विगतको अनुभवको आधारमा शंका गर्ने ठाउँ भने प्रशस्त छन् । तर शंकाको निवारण गर्ने जिम्मेवारी सरकारको हो । यसर्थ सरकाले लिएका नीति र कार्यक्रम कार्यान्वयन गरिनुपर्छ । अन्यथा ति केवल कागजी खोस्टोमा परिणत हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update