Shittalpati
शासक हैन सेवक बन

जेठ ५ गते पहिलो स्थानीय तहले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गरेको छ । योसँगै ६ गतेदेखि नवनिर्वाचित पदाधिकारीहरूले जिम्मेवारी लिएका छन् । मुख्य निर्वाचन अधिकृतसँग शपथ लिँदै पाँच वर्षे कालका निम्ति उनीहरुले विधिवत् काम सुरु गरेका छन् । केही ठाउँमा मतदान प्रक्रियामा गडबडी र कतिपय ठाउँमा मतगणनामा देखिएको सुस्तताका कारण केहीले कार्यभार सम्हाल्न अझै केही दिन कुर्नुपर्नेछ । अब ढिलोमा लगभग एक साताभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ । केही स्थानमा कमजोरी रहे पनि मुख्य कुरो स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । आमजनताले उत्साहका साथ निर्वाचनमा भाग लिएर आफूलाई मन परेको राजनीतिक दल र व्यक्तिलाई भोट दिए । लोकतान्त्रिक व्यवस्था अनि पद्धति थप सुदृढ बन्ने आधार तयार भएको छ । यसमा सम्पूर्ण नेपालीले गौरवानूभूति गर्नुपर्छ । नवनिर्वाचित जनप्रतिनिधिले असल आचरण प्रस्तुत गर्दै जनकेन्द्रित काम गरे भने त्यसले शासकीय व्यवस्थालाई झनै सफल बनाउने विश्वास गर्न सकिन्छ । भर्खर मात्र पदभार सम्हालेका जनप्रतिनिधि साँच्चै नै सच्चिएर अगाडि बढ्नुपर्ने भएको छ ।

विगतका जनप्रतिनिधिको काम गराइबाट जनता खासै सन्तुष्ट हुन सकेनन् । जसको परिणाम अहिलेको निर्वाचनले पुष्टि गरिसकेको छ । त्यसैले पनि आगामी दिनमा जनप्रतिनिधिले जनता सन्तुष्ट हुने गरी काम गर्नुपर्छ । अघिल्लो चोटी नयाँ स्थानीय सरकारका निम्ति बाहनाबाजी प्रशस्त थिए, कानुनदेखि कार्यालयसम्मका गुनासाहरू थिए नै । तैपनि स्थानीय सरकारको कुर्सीमा बस्नासाथै पदाधिकारीहरूले आफूलाई नागरिकका समस्या दूर गर्न सघाऊ पु¥याउने ‘सेवक’ होइन ‘शासक’ ठाने । तिनले पहिलो त, नागरिकलाई कर भार थोपर्दै आफूलाई आकर्षक सुविधातिर केन्द्रित गरे । तिनले विनाप्रतिस्पर्धा आफ्नै पार्टीका कार्यकर्ताहरू अनेक तरिकाले भर्ती गर्ने क्रम बढाएकै हुन् । जनप्रतिनिधि भनेका सबैका साझा हुन् उनीहरु जनताका सेवक हुन् । तर उनीहरुले आफुलाई न सेवक सम्झिए नत साझा उम्मेदवार नै, शासकको रुपमा प्रस्तुत भए । अब पनि नवनिर्वाचित जनप्रतिनिधिहरुले आफुलाई शासक ठान्ने हो भने जनताले नराम्रोसँग घोडा टेकाउने छन् । जनता विगतमा भन्दा धेरै सचेत भइसकेका छन् । त्यसैले पनि जनप्रनिधिले आफु कस्तो बन्ने भन्ने कुरा राम्रोसँग बुझ्न आवश्यक छ । जनप्रतिनिधिले विकृति बाटोमा तगरा लगाउँदै सुशासनको यात्रा तय गर्नैपर्छ । शासकीय कुर्सीमा पुगेपछि दम्भ–घमण्ड देखाउँदै विकृतिकै बाटोमा अगाडि बढ्ने हो भने पाँच वर्षपछि मतदाताले फेरी बदला लिने नै छन् । तसर्थ आफ्नो कार्यकालमा शासक होइन, नागरिकको ‘सेवक’ बन्ने दिशामा अगाडि बढ्नुहोस्, जनताले सधंै साथ दिनेछन् ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update