Shittalpati
रम्भा गाउँपालिकामा अझै सुरु हुन सकेन मतगणना

पाल्पा, जिल्लाको रम्भा गाउँपालिकामा अझै पनि मतगणाना हुन सकेको छैन । वैशाख ३१ गते देखि स्थगित भएको मतगणना शुक्रबार विहानसम्म पनि सुरु हुन सकेको छैन । आज बिहान ७ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि हुन सकेको छैन । रम्भा गाउँपालिका –५, ताँहुको मतपत्र, सीसीटीभी फुटेज, मतपत्रका अर्धकट्टी छानबिनलगायत काममा भएको ढिलाइले गर्दा मतगणनाकार्यमा ढिलाई भएको हो । अनुसन्धानको काम भइरहेकाले मतगणना अझै सुरु हुन नसकेको बताइएको छ ।

यहाँ मतगणना सकिएर जोड्ने क्रममा ७४ मत बढी भेटिएपछि बढेको विवादपछि मतगणना रोकिएको थियो । विवादले गर्दा अहिलेसम्म पनि मतगणना कार्य अघि बढ्न नसकेको हो । २०७९ जेठ ४ गते नै निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सोही निर्देशन अनुसार आज विहानैदेखि मतगणना सुरु गर्ने भनिएको थियो । तर अहिलेसम्म पनि सुरु हुन सकेको छैन् । यहाँ गठबन्धन दलले गहिरो गरी अनुसन्धान गरेर खसेको मतको हिसाब किताब मिलाएर मात्र अगाडि बढ्ने अडान लिएका छन् ।

सत्तारुढ गठबन्धन काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका साथै मंगोल अर्गनाइजेसन नेपालले संयुक्त विज्ञप्ति जारी गरी रम्भा–५, ताँहुको सार्वजनिक नतिजाप्रति असहमति जनाएका थिए । एमालेले भने मतगणना सुचारु गर्न माग गरेको थियो । सत्तारुढ गठबन्धनले भने हिसाबकिताब सही नदेखिएको भनी पुनः मतदानको माग गरेको हो । दलहरुले मतगणना कार्यमा आवश्यक सीसीटीभी व्यवस्था नगरेको, मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिलाई सहभागी नगराइएको, आवश्यक बिजुली बत्ती व्यवस्था नगरेको आरोप लगाएका छन् । साथै उनीहरुले पालिकामा कार्यरत कर्मचारीहरुको प्रयोग गरिएको, मतगणना स्थगित भइसकेपछि पनि दलका प्रतिनिधि नराखिएको, एकपक्षीय व्यक्तिहरुलाई प्रवेश दिइएको, मतपेटिका आध्यारो तथा अन्य सामग्री भएका स्थानमा राखिएको जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update