Shittalpati
आगलागी नियन्त्रणमा ध्यान देऊ

देशभर आगलागीका घटना बढ्दै गएका छन् । हिउँदको समयमा आगलागीको जोखिम बढी हुने गर्छ । आगलागीको मुख्य कारण नागरिकमा देखिएको जनचेतनाको कमी नै हो । आगलागी मानवबाट सिर्जित हुने समस्या हो । एउटा झिल्कोले संसार सखाप पार्न सक्छ भनेझैं मानवीय त्रुटिका कारण लाग्ने आगलागीबाट धेरै धनजनको क्षति हुने गरेको छ । यसवर्ष पनि देशका विभिन्न ठाउँमा लागेको आगोका कारण ठूलो क्षति पुगेको छ । नेपालमा आगलागी जनधनको क्षति र पर्यावरणीय हानिको हिसाबले अन्य विपत्का तुलनामा ठूलो विपत् हो । आगलागीमा परेर वर्षैपिच्छे थुप्रैले ज्यानसमेत गुमाउँदा पनि त्यसको नियन्त्रणका लागि प्रभावकारी काम आजसम्म हुन नसक्नु निकै विडम्बनापूर्ण स्थिति पनि हो । वर्षैपिच्छे देशका हजारौँ ठाउँहरुमा साना–ठूला आगलागीका घटनाहरु दिनानुदिन भैरहेका छन्, तर त्यसमा न्यूनीकरण गर्नतर्फ भने कसैको पनि ध्यान जान सकेको छैन । आगलागी विशेषगरी मानवीय भूलकै कारण सिर्जित हुने विपद्को घटना हो ।

बाढीपहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपसँग आगलागीलाई उही अनुपातमा राखेर तुलना गर्न मिल्दैन । अन्य प्राकृतिक विपद्ले पु¥याएको हानि नोक्सानीसरह नै आगलागीले समेत पु¥याइरहेको हुन्छ,तर आगलागीका घटनाहरुलाई सामान्यरुपमा लिएर आगो निभाएपछि कामकुरा सकिने हिसाबले हेरिनु निकै लापरवाहीपूर्ण अवस्था हो, जसले गलत अभ्यासलाई नै बढवा दिइरहेको छ । आगलागीका कारण वनजंगल समेत सखाप हुने गरेको छ । आगोका कारण कलिला बोटबिरुवा सखाप हुन गई वन नै सकिने अवस्था सिर्जना हुन लागेको छ । आगोले बोटविरुवा मात्र होइन, अमूल्य जडीबुटीसमेत सखाप हुने गरेको छ । आगालागीका कारण वायु प्रदूषणमा समेत ठूलो असर गर्ने गरेको छ । आगालागी नियन्त्रणका लागि चनाखो हुनुपर्ने स्थानीय सरकारको ध्यानजति सबै डोजरमा गएको छ । सम्भावित आगालागीबाट वन–जंगल जोगाउन अपनाउनुपर्ने पक्षमा ध्यान नै जान सकेको छैन । सरकारले आगो लागेपछि हार–गुहार गर्नेतिर भन्दा आगलागी हुन नदिन नागरिकमा जनचेतना जगाउन जरुरी छ । स्थानीय सरकारले पनि केन्द्र सरकारको मुख ताकेर बस्ने भन्दा पनि आफूसँग भएको स्रोत र साधनलाई परिचालन गरेर अगाडि बढ्नुपर्छ । सरोकारवाला निकाय सबै एकताबद्ध भएर लागेको अवस्थामा मात्र आगालागी हुनबाट रोक्न सकिन्छ । तसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update