Shittalpati
आचारसंहिता उल्लङ्घन रोक

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन मिति जति जति नजिक आउँदैछ त्यति त्यति नै आचरसंहिता उल्लङ्घनका घटनाहरु बढ्दै गएका छन् । निर्वाचनलाई कसैले कहीबाट पनि प्रभाव पार्ने काम नहोस् भनेर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरे पनि यसको कार्यान्वयन पक्ष फितलो हुँदा उल्लङ्घनका घटना व्यापक बढेको छ । आचारसंहिता विपरीत पर्चा, झण्डा, ब्यानर लगायतका सामग्रीहरुको अहिले व्यापक प्रयोग भइरहेको छ । कतै चर्का–चर्का आवाजमा गीत बजाउँदै प्रचारवाजी समेत भएको छ । यसरी प्रस्टै देखिने गरी भैरहेका क्रियाकलाप माथि भने कतैबाट रोक्ने काम भएको छैन । निर्वाचन आयोगले सार्वजनिक पदमा आसीन हुने, यद्यपि दलका नेतृत्व पक्तिमा समेत रहेका केही नेताहरुलाई केवल सतर्क बनाउने, स्पष्टीकरण सोध्नेमात्रै काम गरिदा त्यसले समेत आचारसंहिता उल्लङ्घन गर्न प्रेरित गरिरहेको प्रतित हुन्छ । तडकभडक, दवाब र अनुचित प्रभाव लोकतान्त्रिक निर्वाचनमा हुनै हुँदैन ।

नैतिकतापूर्ण राजनीति गर्नेहरूले ती त स्वतः व्यवहारमा उतार्नुपर्ने कुरा हुन् । तर नेपाली राजनीति निकै विकृत छ । राजनीतिबाट नैतिकता ह्रास भइरहेको छ । इमान्दारी, निष्ठा र आदर्श लोप हुँदैछ । पैसाको खोलो बगाएर जसरी पनि चुनाव जित्ने होडमा दल, नेता र उम्मेदवारहरू लागेका छन् । यी सबैलाई लगाम लगाउन निर्वाचन आयोगले आचार संहिता बनाएको छ । तर, त्यसको धज्जी उडाउन दल र नेताहरू तँछाडमछाड गरिरहेका छन् । सामाजिक सञ्जालमा समेत आचारसंहिता उल्लङ्घनका घटना तीव्र भैरहेको छ । गालीगलौच र आरोप–प्रत्यारोपका श्रृङ्खलाले त्यहाँ सीमा नाघ्दा पनि त्यसलाई निषेधसम्म गर्न नसकिने अवस्था आउनु भनेको आपत्तिजनक छ । खासमा चुनाव गर्ने काम निर्वाचन आयोगको मात्रै ठेक्का होइन । निष्पक्ष, स्वच्छ र स्वतन्त्र निर्वाचन सम्पन्न गराउन प्रमुख भूमिका त त्यसका प्रमुख सरोकारवाला अर्थात् दलहरूले खेल्न सक्नुपर्छ । आचारसंहिताको पालना अकाट्य छ । आयोगलाई सफल बनाउने दायित्व उम्मेदवार र दलहरूको पनि हो । यसर्थ स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन बनाउन सबै राजनीतिक दल र उम्मेदवारहरुले आचरसंहिता पालना गर्नुपर्छ र यदि कहि कतैबाट उल्लङ्घन भए तत्काल कारवाहीको दायरामा ल्याउन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update