Shittalpati
प्रचार–प्रसारमा डिजिटलको प्रयोग

अहिलेको युगलाई सूचना तथा सञ्चार प्रविधि अर्थात् डिजिटल युगका रूपमा चिनिन्छ । सूचना प्रविधि क्षेत्रको अतुलनीय विकास वर्तमान विश्व र मानव जातिको जीवन पद्धतिमा आमूल परिवर्तनको संवाहक बनेको कुरालाई कसैले पनि नकार्न सक्दैन । समग्र देश विकासमा सूचना तथा सञ्चार प्रविधिको निकै महत्वपूर्ण स्थान निर्विवाद तथ्य हो । सूचना प्रविधिको द्रूततर विकाससँगै सामाजिक सञ्जालप्रतिको आकर्षण बढिरहेको छ । किशोरकिशोरीदेखि वृद्धवृद्धामा समेत सामाजिक सञ्जालप्रति मोह जागेको छ । पछिल्ला दिनमा विशेषगरी फेसबुक ट्वीटर, इन्स्ट्राग्राम, भाइबरल गायतका माध्यम युवामाझ लोकप्रिय छन् । सूचना तथा सञ्चार प्रविधिका विभिन्न आयामको उपयोग गरेर यसबाट राष्ट्र तथा जनताको सर्वोपरि हितका निम्ति अधिकतम उपयोग गरिनुपर्ने समयको आवश्यकता नेपालमा पनि महशुस हुँदै आएको छ । यसै सन्दर्भमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले समेत डिजिटलको प्रयोग गरी चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । जनताको हातहातमा मोबाइल भएको हालको अवस्थामा डिजिटल प्रचार–प्रसार निकै लोकप्रिय मात्र होइन, आकर्षक पनि बनिरहेको छ ।

स्थानीय तहका सबै उम्मेदवारहरू सामाजिक सञ्जालको अधिकतम प्रयोग गरी आ–आफ्ना प्रतिवद्धता व्यक्त गरिरहेका छन् । पार्टीका गीतका ‘जिंगल’ तथा आफ्ना मौलिक रचना डिजिटल माध्यमबाट जनतालाई सुन्ने, देख्ने र बुझ्ने बनाइरहेका छन् । अहिलेको निर्वाचन प्रचारप्रसार खर्च पर्चा, पोस्टर, पम्प्लेट आदिमा देखिएको छैन । प्रचार खर्च ठूलै मात्रामा भएको छ तर त्यो डिजिटल प्रचारमा भइरहेको छ । डिजिटल प्रचारले सबै तहका मतदाताबीच उम्मेदवारहरूको योजना र भिजनलाई प्रष्ट पारिरहेको छ । पहिलेको जस्तो घण्टौं लगाएर सभा गरिने र गाडी नै रिजर्भ गरेर उम्मेदवारको भाषण सुन्न जाने अवस्था आगामी दिनमा नहुने कुरालाई डिजिटल प्रचार–प्रसारले स्पष्ट संकेत गरिसकेको छ । जनसभा बिना नै उम्मेदवारले आफ्नो मत राख्न पाउने र राखिएको मत वा विचार हरेक जनताको घरघरमा पुग्ने भएकाले पनि प्रचार–प्रसारका लागि सामाजिक सञ्जाल बढी प्रभावकारी देखिएका छन् । यसलाई सकरात्मक रुपमा लिनुपर्छ । अहिले मतदाताहरू कुन उम्मेदवारले के भनिरहेको छ र के गर्न चाहिरहेको छ भन्ने कुरा सामाजिक सञ्जालबाटै घरमै सुन्न र हेर्न पाइरहेका छन् । त्यतिमात्र होइन आफुलाई चित्त नबुझेका कुराहरु कमेन्ट गर्न पनि सामाजिक सञ्जाल माध्यम बनेको छ । यसको सही उपयोग गर्न सकेमा डिजिटल प्रचार–प्रसार अत्यन्त प्रभावकारी र भरपर्दा बन्न सक्छ । यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update