Shittalpati
प्रेस स्वतन्त्रता दिवसको सार्थकता

आज विश्व प्रेस स्वतन्त्रता दिवस हो । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै विश्वभर यो दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विण्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा पनि प्रेस स्वतन्त्रताका क्षेत्रमा रहेका समस्या र चुनौतीका विषयमा छलफल र समीक्षा गर्दै यो दिवस मनाइँदै छ । हरेक वर्ष यो दिवस माउने गरिए पनि नेपालको प्रेस स्वतन्त्रताको अवस्था भने खस्कँदै गएको छ । यो अत्यन्त दुखद् हो । विगतको तुलनामा पत्रकार तथा सञ्चारगृह माथि हुने हिंसाका घटना बराबरी भए पनि कानुनी रूपमा प्रेसमाथि नियन्त्रण गर्ने सरकारको आकांक्षा बढ्दो छ ।

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था एक अर्थमा चुनौतीपूर्ण बन्दै गएको छ । सार्वजनिक सरोकारका विषयमा प्रश्न उठ्दा सञ्चार–माध्यमप्रति सरकारको सहनशीलता घट्दै गएको छ । मुलुक सवल हुनलाई स्वतन्त्र प्रेस अपरिहार्य हुन्छ । तर सरकारबाटै प्रेस स्वतन्त्रतालाई कुण्ठीत हुने गरी अंकुस लगाइनु गलत हो । मानव अधिकारको स्रोत मानिएको प्रेस स्वतन्त्रता बिना देश प्रजातान्त्रिक हुन सक्दैन । नागरिक सुसूचित हुने अधिकार नै प्रेस स्वतन्त्रता हो । प्रेसले स्वतन्त्रपूर्वक निर्वाह गर्ने आफ्नो भूमिका नै प्रेस स्वतन्त्रता हो । प्रेस स्वतन्त्रतालाई अभिव्यक्ति स्वतन्त्रताको अंशका रुपमा लिइन्छ । प्रेस स्वतन्त्रतालाई सुशासनको पूर्वाधार मानिन्छ । नेपालमा संविधानमै प्रेस स्वतन्त्रताका पदावलीहरु लिपिबद्ध भए पनि पत्रकारहरुले भने त्यसको पूर्ण अनुभूति गर्न सकेका छैनन् । समाचार लेखेकै कारण पत्रकारहरुको हत्या, धम्की, आक्रमण तथा अपहरणको शिकार भएका छन् । यसले प्रेस स्वतन्त्रता माथि प्रश्न चिन्ह खडा गरेको छ । प्रेस सरकारका खराब प्रवृत्तिलाई सच्याउने तथा समाजका सकारात्मक–नकारात्मक गतिविधिलाई उजागर गर्ने सशक्त माध्यम हो । यही आलोचनाबाट जवाफदेहिताको त्यो ढोका खोलिन्छ । यसर्थ प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सके मात्र प्रेस स्वतन्त्रता दिवसले सार्थकता पाउन सक्छ । अन्यथा दिवस औपचारिकतामा मात्र सीमित हुनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update