Shittalpati
पाल्पा र गुल्मीमा एक सय ५७ उम्मेदवारी फिर्ता

कृष्ण पोखरेल
पाल्पा, गठबन्धन गर्ने पार्टीका निर्णयविरुद्ध पाल्पा र गुल्मीमा बागी र स्वतन्त्र उम्मेदवारी दिएका एक सय ५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको टिकट वितरणमासमेत असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुले आयोगले निर्धारण गरेको समयमा मनोनयन फिर्ता लिएका हुन् । पाल्पामा ७५ र गुल्मीमा ८२ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । मनोनयन दर्ता फिर्ता गर्नेहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी विप्लप, नेशनल मंगोल अर्गनाइजेशन पार्टी सम्वद्ध उम्मेदवाहरु रहेका छन् ।

पाल्पाको तानसेन नगरपालिकाबाट वडा अध्यक्षसहित ८ जना, तिनाउ गाउँपालिकामा पालिका अध्यक्षसहित ६ जना, बगनासकालीमा वडा अध्यक्षसहित १९ जना, रिव्दीकोटमा उपाध्यक्ष सहित ८ जना, रैनादेवीमा अध्यक्ष, उपाध्यक्षसहित १७ जना, रामपुर नगरपालिकामा वडा अध्यक्ष सहित १२ जना, पुर्वखोला र निस्दीमा एक/एक जना, माथागढीमा ३ जना गरी ७५ जनाको उम्मेदवारी फिर्ता भएको जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख रुक्मागत अर्यालले बताए । रम्भा गाउँपालिकामा एक जनाले पनि उम्मेदवारी फिर्ता गरेनन् । निस्दी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका एमाले गाउँ कमिटीका अध्यक्ष दमनसिंह पाटा मगरले उम्मेदवारी फिर्ता लिएका छन् भने रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका गोविन्द प्रसाद आचार्य, रैनादेवी छहरामा नेपाली काँग्रेस पालिका अध्यक्ष विष्णु प्रसाद पोखरेलले पालिका अध्यक्ष, निवर्तमान पालिका उपाध्यक्ष चेतना थापाले पालिका उपाध्यक्षबाट उम्मेदवारी फिर्ता लिएका छन् । तानसेन नगरपालिका वडा नं. ५ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमाले जिल्ला कमिटी सदस्य बुद्धबहादुर रावले पनि उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा माओवादी विप्लव पाल्पाका पूर्व सचिव रहेका स्वतन्त्र उम्मेदवारी दिएका भुवन जि.सी.ले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता रहेका छन् भने नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले पनि गठबन्धनमा चित्त बुझ्दो उम्मेदवारी नपाएको भन्दै बागी उम्मेदवार मनोनयन दर्ता गरेका पार्टीका आधिकारिक उम्मेदवारहरु रहेका छन् । बागी उम्मेदवारहरुले पार्टीले टिकट वितरण गर्दा राजनीतिक योगदान, क्रियासिलता भन्दा पनि धनी, प्रशस्त पैसा खर्च गर्ने व्यक्ति हरेरे टिकट वितरण गरेको असन्तुष्टिको स्वरुप बागी उम्मेदवारी दिएको फिर्ता गरेका उम्मेदवारहरुले बताएका छन् । वार्ताको क्रममा पार्टीका तल्ला कमिटीका सिफारिस तथा निर्यणहरुलाई माथिल्लो निकायबाट कार्यान्वयन गर्ने, सहमतिको आधारमा स्वतन्त्र उम्मेदवारी फिर्ता गरेको रैनादेवी छहराका अध्यक्षमा उम्मेदवारी दिएका नेपाली काँग्रेस पालिका सभापती विष्णु प्रसाद पोखरेलले बताए । उम्मेदवारी फिर्ता भएपछी तानसेन नगरपालिकामा १ सय ८२ जना, रैनादेवी छहरामा १ सय २ जना, रिव्दीकोट गाउँपालिकामा ९२ जना, बगनासकाली गाउँपालिकामा १ सय ४६ जना, तिनाउमा ७६ जना, माथागढीमा १ सय ३३ जना, पुर्वखोलमा ७१ जना, रम्भामा ६१ जना, रामपुरमा १ सय २६ जना र निस्दीमा ८३ गरी १ हजार ७२ जना अन्तिम उम्मेदवार कायम भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख अर्यालले बताए । यस्तै गुल्मीमा आफ्नै पार्टीविरुद्ध स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ८२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार गुल्मीमा अध्यक्षका १३ जना, उपाध्यक्षका ९ जना, वडाअध्यक्षका ४६ जना, वडा सदस्य ८ जना, महिला सदस्य ५ जना र स्वतन्त्र उम्मेदवार १ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update