Shittalpati
दिवसमै सीमित नबनोस् श्रमिक दिवस

अन्तर्राष्ट्रिय श्रमिक दिवस आज देशभर मनाइँदै छ । हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको हो । नेपालले सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दै शुरु भएको आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको हो ।

विगतमा यो दिवस औपचारिकतामा सीमित बन्ने गरेको पाइएको छ । औपचारिकता र कर्मकाण्डी ढंगले दिवसहरू मनाउने प्रचलनले श्रमिकको मर्म र भावनामा ठेस पुग्ने गरेको छ । दिवस मनाउन केही व्यक्ति बसेर नारा तयार गर्ने चलन छ । यस वर्षको अमूक दिवस यस्तो नारा तयार गरेका छौं भनेर सार्वजनिक गर्ने गरिन्छ । नारा कर्णप्रिय हुन्छन्, सुन्दा जति राम्रा भए पनि त्यस दिनबाहेक वर्षभरिका ३ सय ६४ दिन कार्यान्वयन गर्ने प्रयत्न गरिँदैन र सोच्दै सोचिँदैन । यो आफैमा दुखद् हो । नेपालको संविधानको श्रमिकको हकलाई मौलिक हकको रूपमा रोजगारी सम्बन्धी हकको व्यवस्था गरेको छ । प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको समेत व्यवस्था गरेको छ । श्रमिकका साँझा हक अधिकारका लागि कानुनबमोजिम ट्रेड युनियन खोल्ने श्रम संगठनमा आवद्ध हुन पाउने र सामूहिक सौदा बाजी गर्न पाउने हक समेत प्रदान गरेको छ । तर अहिलेसम्म पनि श्रमिकहरुले उचित पारिश्रमिक भने पाउन सकिरहेका छैन् । यो विडम्बनाको कुरा हो । आजको दिन विश्वका श्रमिकहरुको यो महान् चाड हो । श्रमिक आन्दोलनले विश्वमा ठूलो उपलब्धि हासिल गरेको छ । तर अझै पनि श्रमिकको अवस्था नाजुक छ । जबसम्म श्रमिकको अवस्थामा सुधार हुँदै तबसम्म श्रमिक सधै पिडित नै हुनुपर्छ । प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक र सुविधा अहिलेको माग हो । अर्को तर्फ अझै पनि समाजले श्रम गर्नेहरुको उचित मूल्यांकन गर्न सकेको छैन । मानिसले जुनसुकै क्षेत्रमा काम गरे पनि आत्मसम्मान र श्रमप्रतिको सम्मान हुनुपर्छ । जहाँ श्रमको सम्मान र कदर हुन्छ, त्यहाँ नै समानता हुन्छ । राज्यले देशभित्रै रोजगारीको अवस्था सिर्जना गरेर श्रमिक तथा कामदारको हक–हित र अधिकार संरक्षण गर्नुपर्छ । यसर्थ श्रमजीवीहरुको पेसागत र सामाजिक सुरक्षा सुनिश्चित भए मात्र श्रम दिवस मनाउनुको औचित्य रहन्छ, अन्यथा दिवस औपचारिकतामै सीमित नरहला भन्न सकिदैन ।

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update