Shittalpati
दल–बदलका नाटक

स्थानीय तहको निर्वाचन हुन अब केही दिन मात्र बाँकी छ । आइतबार र सोमबार दलहरुले उम्मेदवारी दर्ता गराए । यो समयसम्म आउँदा एउटा अनौठो र रमाइलो दृश्य दलका नेताहरुबाट देखियो । जसले अहिले नेपाली राजनीतिलाई तताएको छ । विभिन्न दलका आकांक्षीहरूले पार्टीको आधिकारिक उम्मेदवारको सम्भावना नदेखेपछि दल–बदलका नाटक बाक्लैसँगै मञ्चन गरे । को कति खेर कुन पार्टीमा पुग्छ भनी ठम्याउनै नसकिने स्थिति पैदा भयो । हिजोसम्म एमाले, काँगे्रस वा माओवादीबाट स्थानीय तहमा रजगज गरेका पात्रहरू रातारात पार्टी बदलेर फरक दलका उम्मेदवार बन्दैछन् । त्यति मात्र होइन गठबन्धनका कारण नेपाली काँगे्रसबाट ५ वर्ष स्थानीय तह चलाएका नेताहरु अर्को पार्टीमा गएर उम्मेदवार बनेका छन् भने कोही स्वतन्त्रबाट उम्मेदवारी दिएर त्यही पार्टीलाई हराउन लागेका दृष्यहरु अहिले यत्रतत्र देखिएका छन् ।

सबै र सधैं आफैले पाउनुपर्छ भन्ने सोंचका कारण यस्ता दृष्यहरु देखिएका हुन् । हुन त पार्टी पंकतिले पनि ति व्यक्तिहरुलाई कन्भिन्स गराउन नसक्नु पनि हो । पार्टीमा योगदान गरेका व्यक्तिहरुलाई पाख लगाउदै नवप्रवेशीहरूलाई फूल माला लगाइदिनुले पनि यस्तो अवस्था सिर्जना भएको हो । यो पार्टी नेतृत्वको कमजोरीका रुपमा दिन सकिन्छ । निष्ठाको इतिहास बोकेका नेता/कार्यकर्तालाई कुण्ठित तुल्याउँदै पाखा लगाइनु गलत हो । हाम्रो राजनीतिमा ‘कुण्ठा’ बढ्नुको कारण नै दल–बदलु र अनुचित पात्रले प्रश्रय पाउनु हो । सँगै जसरी पनि संख्या बढाउनैपर्ने एक मात्र अर्जुनदृष्टि बोकेका नेताहरू स्वयंले दल–बदललाई प्रश्रय दिएका छन् । यो अत्यन्त दुखद् हो । जसरी पनि जित्नैपर्ने दाउमा रहेका दलीय नेताहरूले के बुझेका छैनन् भने तिनीहरू ‘अवसर’का निम्ति भित्रिएका हुन् । अवसर पाउँदा बस्ने र नपाउँदा जाने । यिनिहरुबाट पार्टी सर्तक रहन जरुरी छ । जो अवसरका लागि रातारात आस्था÷सिद्धान्त, दल परिवर्तन गर्छन्, तिनीहरूले पदलाई पनि त्यसरी विकृत तुल्याउने निश्चित छ । तसर्थ यसतर्फ राजनीतिक दलहरुले हेक्का राख्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update