Shittalpati
औलो रोगबाट बचौं

लामखुट्टेको टोकाइको माध्यमबाट सर्ने रोग औलो रोग हो । यो रोग निवारण गर्ने उद्देश्यका साथ हरेक वर्षको अप्रिल २५ मा विश्व औलो रोग दिवस मनाइने गरिन्छ । आज नेपालसहित विश्वमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको निर्णय अनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व औलो दिवस मनाइन्छ । सबै जनतालाई निशुल्क, प्रभावकारी, गुणस्तरीय सेवा पुर्‍याउँदै सन् २०२५ सम्ममा नेपालले औलो रोगमुक्त देश बनाउने लक्ष्यका साथमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । स्वास्थ्य संस्था र सरोकारवाला निकायले औलो निवारण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि नेपालमा औलोको प्रकोप कायमै छ । यसो हुनु दुखद् हो । औलो उन्मूलनका लागि भन्दै करोडौं रकम खर्च गरिएको छ तर परिणाम भने नगन्य रुपमा हुनु पक्कै पनि राम्रो होइन ।

नेपालको तराईका जिल्लाहरुमा बढी प्रभाव देखिएको यो रोगको प्रकोप दिनानुदिन पहाडी तथा अन्य भेगमा समेत बढ्दै गएको छ । जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएको हुँदा लामखुट्टेहरु पनि फयाटफुट्ट जता पनि देखिन थालेको छ । यसबाट सर्तक रहन जरुरी छ । नेपाल भारत खुला सिमाना, बिचमा रक्त परीक्षण गर्ने प्रावधान नभएका कारण पनि नेपालबाट काम गर्न गएका नेपालीहरु औलो रोगको सिकार भई नेपाल आउँदा रोग सहित आउने जसबाट घर परिवार तथा समुदायमा पनि लामखुट्टेको टोकाइबाट सर्न सक्ने जोखिम बढी देखिन्छ । लामखुट्टेको टोकाईबाट जोगिनु नै यसको मुख्य रोकथाम हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो । पानी जम्ने स्थानहरू कम गर्ने, बासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैं झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ । जोखिम युक्त ठाउँहरुको भ्रमणमा जानु अगाडि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ । घर घर, समुदायहरुमा जनचेतना फैलाउनु, औलोरोगका लक्षणहरुबाट बच्ने उपायहरुको बारेमा चेतना फैलाउने, संकास्पद विरामीले तुरुन्त परीक्षण गर्ने तथा विरामीहरुले तुरुन्त उपचार गर्ने जस्ता कुरामा ध्यान दिन सके यो रोगबाट बच्न सकिन्छ । यसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update