Shittalpati
पृथ्वी दिवसको सान्दर्भिकता

विश्वभर विभिन्न कार्यक्रमहरू गरी आज विश्व पृथ्वी दिवस मनाइँदै छ । सन् २००९ मा संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । पृथ्वीको संरक्षण र पुनस्थापित गर्ने उद्देश्य राखेर यो दिवस मनाउन थालिएको हो । तर हरेक वर्ष यो दिवस मनाइने गरिए पनि पृथ्वीमाथि मानिसको अव्यवस्थित दोहन बढ्दै गएको छ । जसका कारण प्राकृतिक विपत्ति समेत बढ्दो छ । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी परेको छ । औद्योगिक विकासको अस्वस्थ होडबाजीले जल, जंगल, जमिन र जीवजन्तुलाई नकारात्मक असर पर्दै गएको छ । अहिले जमिन मरुभूमीकरण बन्दै गएको, समुद्रको सतह बढ्दै गएको, हिमालको हिउँ पग्लिरहेको, आगलागी, वन विनाश जस्ता घटनाले पृथ्वी संकटमा छ । नेपाल विश्वसँगै जलवायु परिवर्तन र बढ्दो प्रदूषणको चपेटामा पर्दै गएको छ ।

प्रदुषणको जटिलताले गर्दा मानिसलगायत प्राणीजगत विभिन्न क्षेत्रका सिकार भइरहेका छन् । विश्वको जनसंख्या दिनप्रतिदिन बढ्दैछ । भूगोलको हिसाबले हामी संसारका जुनसुकै ठाउँमा छरिएर बसेपनि यसै पृथ्वीमा नै बस्छौ । पृथ्वीको विनाश हुनु भनेको मानव लगायत सम्पूर्ण प्राणी जगतको विनाश हुनु हो । जथाभावी रुख विरुवा काटिनाले नदीनालाको छेउ किनारबाट वालुवा, ढुंगा, गिट्टी उत्खनन् गरिनाले, जथाभावी गाउँ–गाउँमा मोटरबाटो र डोजर आतंक गरिनाले अव्यवस्थित रुपमा बस्ती बस्नाले, अधिकमात्रामा थोत्रा सवारीसाधनको प्रयोग, अस्वस्थ्य औद्योगिकिकरण आदिले गर्दा पृथ्वी विनास हुँदै गएको छ । यसप्रति सबैले चिन्तन गर्नु आवश्यक छ । पृथ्वी बचाउन जलवायु परिवर्तनको असर कम गर्न मानिसले व्यवहार परिवर्तन गर्न आवश्यक देखिन्छ । यसको सुरुवातका लागि जंगल क्षेत्र बढाउने र दिगो विकासका लागि वैकल्पिक उपायको खोजि गरिनुपर्छ । हरेक वर्ष पृथ्वी दिवस मनाइन्छ । तर, दिवस एकदिने दिवसका रुममै सिमित रहनाले र मानिसहरुले गहिरिएर नसोचिदिनाले, दिनप्रतिदिन पृथ्वीको दोहन भइरहेको छ । तसर्थ पृथ्वीलाई विनास हुनबाट बचाउन सके मात्र दिवस मनाउनुको सान्दर्भिकता ठहरिन्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update