Shittalpati
छन्द दिवसको सन्दर्भ

आज छन्द दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदै छ । साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण गर्ने उद्देश्यसहित आज यो दिवस मनाउन लागिएको हो । कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएपछि कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुर्नस्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिनलाई नै हरेक वर्ष छन्द दिवसका रुपमा मनाउन थालिएको हो । छन्द दिवसको अवसरमा देशका अधिकांश साहित्यिक डबलीहरुमा छन्दमा लेखिएका कविताहरु बाचन गर्दै साहित्यिक कार्यक्रम आयोजना गरिन्छ । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाइन्छ । यो दिवस मनाउन लागेको पनि २६ वर्ष भयो । तर अहिले सम्म छन्दको न संरक्षण भएको छ न त प्रवद्र्धन नै । पछिल्लो समय साहित्य क्षेत्रमा नयाँ नयाँ विधाहरुको उदय भएसँगै छन्द विधा ओझेलमा पर्न थालेको छ ।

नेपाली साहित्यमा छन्दलाई कविता भन्दा बढी शास्त्रको दर्जा दिइए पनि यो विधा ओझेलमा पर्नु अत्यन्त दुखद् हो । छन्दको अस्तित्व अनादिकालबाट नै रहेकोले यसको वास्तविक उत्पत्ति सृष्टिकै आदिकाल भएको मानिन्छ । यसलाई धर्म संस्कृतिसंग जोडेर पनि हेर्ने गरिन्छ । त्यसैले छन्द कवितालाई सनातन वैदिक परम्पराको धरोहरको रुपमा पनि लिइन्छ । छन्दले सत्यमार्गतर्फ उन्मुख गराउँछ भन्ने मान्यता रहेको छ । छन्दकविताको अवलम्बन गर्ने व्यक्ति स्वयम् सदाचारी, शान्तिप्रिय, शीलवान र परोपकारी हुने तर्क अनुभवी अग्रज छन्द कविहरूले दिने गर्छन् । उसको आहार, विहार र स्वभावमा समेत सुधार हुन्छ र ऊ आध्यात्मिकतर्फ उन्मुख हुनपुग्दछ । यसले अन्धविश्वास र अनैतिकतालाई पनि निर्मूल पार्दछ । छन्द एकातिर असल, उचित, ठीक र राम्रोको पर्याय हो भने अर्कोतिर कविता निर्माणको सूत्र हो जसले लयको संयोजन गर्दछ । यसर्थ यसको आफ्नै महत्व, र पहिचान रहेकाले यसको संरक्षण र प्रवद्र्धनमा सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update