Shittalpati
बेरोजगारी समस्या समाधान गर

नेपालमा बेरोजगारीको अवस्था बढ्दो छ । धेरै युवा शक्ति बेरोजगार भएर बस्नु परेको अवस्था छ । बेरोजगारी समस्या हाम्रो मुलुकका लागि एउटा चुनौतीपूर्ण समस्याका रूपमा रहेको छ । आर्थिक दृष्टिले बेरोजगारी भन्नु काम गर्ने इच्छा र योग्यता भएर पनि कुुनै पनि काम नभएर त्यसै बस्नु हो । हाम्रो आर्थिक ढाँचा र आर्थिक प्रगति ऋणात्मक प्रकारको देखिन्छ । इच्छा, योग्यता र काम खोज्ने प्रयास गर्दागर्दै पनि मानिस बाध्य भएर कामबाट पृथक तथा फरक रहनुुपरेको छ । वर्तमान पुँजीवादी संगठन नै यसको प्रमुख कारण हो । कामको सुविधा र अवसर उपलब्ध रहेर पनि श्रमबजारमा श्रमशक्तिको पूर्ति बढी रहन्छ भने त्यसलाई बेरोजगारीको समस्या भनिन्छ ।

मुलुकमा बेरोजगारीको समस्या कस्तो छ भनेर हेर्नका लागि म्यादी प्रहरी बन्नका लागि दरखास्त दिने युवाहरुलाई हेरे पुग्छ । प्रत्येक जिल्लामा उनीहरू लाम लागेका दृश्यले मुलुकमा कामको साँच्चिकै अभाव रहेको देखाउँछ । एकातिर, मुलुकमा उद्योगधन्दाको विकास हुन सकेको छैन । अर्कोतिर देशमै आवश्यक पर्ने सिपयुक्त कामका निम्ति युवा जनशक्तिलाई तयार पारिएको छैन । देशमा उद्योगधन्दा खुलेका भए कसैले पनि रोजगारीका निम्ति धेरै चिन्ता गर्नुपर्ने थिएन । जता पनि काम पाइन्थ्यो । त्यसले रोजगारी मात्र बढाउने थिएन, बजारमा सकारात्मक प्रभाव पार्ने थियो । अन्य वस्तु तथा सेवाको उत्पादनमा समेत योगदान पु¥याउँथ्यो । देशमा उद्योगधन्दा खोल्ने वातावरण बन्नै सकेको छैन । भइरहेका उद्योगहरु पनि निरुत्साहित हुनुपर्ने अवस्था छ । जसले गर्दा युवाहरु देशमा रोजागरी नपाएर बाध्य भएर वैदेशिक रोजगारमा जाने गर्छन् । वैदेशिक रोजगारीमा जान बाध्य पारिएका युवा विदेशमा काम गर्ने क्रममा व्यवसायजन्य सुरक्षाको ज्ञानको कमीले वा अभावमा कहिले कारखाना त कहिले घर निर्माणको क्षेत्रमा, सडकमा दुर्घटनामा पर्ने गर्छन् । यसबारेमा राज्यले ठोस कानुन ल्याउन सकेको छैन । देशमा उद्योगधन्दाको विकास नगर्ने हो भने वैदेशिक रोजगारीबाट मात्र बेरोजगारीको समस्या हल गर्न सकिँदैन । यसर्थ आफ्नै देशभित्र उद्योग धन्दा स्थापना गरेर काम गर्ने वातावरण सिर्जना गर्नतिर सरकारले ध्यान दिनुपर्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update