Shittalpati
चैते दशैं र रामनवमी

दशैं नेपालीहरुको महान चाड हो । यसलाई सांस्कृतिक महत्वको पर्व पनि भन्ने गरिन्छ । त्यसैगरी चैते दशैं पनि अशोजमा पर्ने मूख्य दशैं को एउटा प्रतिविम्वत पर्व हो भनिन्छ । नेपालीहरुले उत्तरायणमा एकपटक र दक्षिणायणमा एकपटक गरी दुइ वटा जागृत दशैै धुमधामका साथ मनाउने गर्दछन् । भनिन्छ यो अष्टमीलाई वर्षको ठीक आधा बर्ष अर्थात महाअष्टमीको छ महिना मानिन्छ । धार्मिक मान्यता अनुसार खासमा नवरात्र वर्षको चार वटा हुन्छन । तर मुख्यत केवल दुइवटा नवरात्र मात्र ठूलो दशैंको रुपमा भव्यताका साथ मनाइने गरिन्छ । चैत्राष्टमी पर्ब बसन्त ऋतुमा पर्ने भएकोले यसलाई बासन्तीय नवरात्र पनि भनिन्छ । चैतमा शुक्ल प्रतिपदादेखि नवमी सम्म बासन्तीय नवरात्र भनिन्छ भने असोजको शुक्ल प्रतिपदा देखि नवमीसम्म मनाइने लाई शारदीय नवरात्र भनिन्छ । यसमा गरिने शक्तिको उपासना अशोज, माघ, चैेत्र तथा असार गरी चारपटक नवरात्र मनाइने गरिएको पनि भनिन्छ । यी चारै नवरात्रहरुमा नौ दिनसम्म विभिन्न शक्तिपीठहरुमा विशेष रुपमा पूजा अर्चना गर्ने चलन रहेकोछ । नवरात्रीका दिनहरुमा श्रीदुर्गा भवानीले नौ दिनसम्म नौ रुप धारण गर्ने भएकीले दर्गा भवानीका नौ पीठमा गएर दर्शन गर्ने गरिन्छ । मन्दिरहरुमा भक्तजनहरुले आफ्नो भाकल अनुसार बली दिने गर्दछन् । पहिला पहिला मुख्य दशै अर्थात विजया दशमी चैत्र महिनामा पर्ने गर्दथ्यो तर उक्त समय मौसम गरम हुने, सुख्खा र खडेरी पर्ने मौसम बदली भइरहने हुँदा चाडको अवसरमा धेरैजना विभिन्न प्रकारका रोगहरुले विरामी हुने भएकोले यस चाडलाई वर्षको मध्यमा अर्थात गर्मी ऋतुबाट शरद ऋतुमा सारिएको भनिन्छ ।

अशोजको महिना खेतीपाती सकिएर फुर्सद मिल्ने समय हो । यो शरद ऋतु न त बढी गर्मी न त बढी चिसो हुने मौसम हो । यस अवधिमा गर्मीको प्रकोप शान्त भैसकेको हुन्छ र गरिष्ठ भोजनले पनि धेरै विगार नगर्ने भएकोले यो चैते दशै पर्ब अशोजमा सारिएको भनिन्छ । बडा दशैंलाई असत्य माथिको सत्यको विजय, खराब तत्व माथि असल तत्वले विजय हासिल गरेको भनि धुमधामसंग मनाइए पनि चैते दशैंलाई भने खासै धूमधामसंग मनाइदैन । यस दिन कसै कसैले आफ्ना नातेदारहरु बोलाई भोज खुवाउने चलन पनि रहेको छ । भारत बंगलादेश म्यानमारमा यसलाई चैत्र नवरात्र भन्ने चलन छ । नेपालमा दशैंको रौनक अष्टमीको दिने बुझिन्छ । यसदिन दानविय शक्ति माथि दैवी शक्तिको विजय उत्सवकोरुपमा मनाइने गर्रिएको भनिन्छ । चैते दशैंलाई पनि मूख्य पर्व मानि विभिन्न शक्तिपीठहरुमा पशु वलि भोग दिने प्रचलन रहेको छ । चैत्र शुक्ल अष्टमीका दिन काठमांडोै उपत्यका भित्रका दुर्गा मन्दिरहरुमा गुहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, शोभा भगवती, रक्तकाली, नक्साल भगवती, मैतीदेवी र संकटा मन्दिरहरुमा दर्हनार्थीहरुको घुँइचो लाग्दछ । तलेजु भवानी हनुमान ढोका, दरबार स्क्वाएर भक्तपुर दरवार स्कवायर लगायत उपत्यकाका अन्य शक्तिपीठहरुमा बलि दिइन्छ । यसरी बलि दिने समारोहमा नेपाली सेनाको पनि सहभागिता रहने गर्दछ । तानसेनमा यस दिन रण उजिरेश्वरी भगवती माताको मन्दिरमा पूजा गर्नेहरुको भीड लाग्दछ । आफुले भाकल गरेको पूरा भएको वा पूरा हुने विश्वासमा भगवती मातालाई बोका, कुखरा, हाँसको बलि दिइन्छ । यसका साथै नेवार समुदायले घरघरमा कसैले आफनो कूलको पूजा गर्दछन् । यही सानो चैते दशैंले राम जन्मेको ठूलो सन्देश बोकेर आउँछ । यसैलाई राम जन्मेको उपलक्षमा राम नवमीको रुपमा मनाइन्छ । चेैते दशैंलाई असत्य माथि सत्यको विजयको रुपमा मनाइन्छ । रामनवमी सनातन हिन्दू धर्मावलम्वीहरुको महत्वपूर्ण पर्व हो । यो पर्व चैत्र महिनाको शुक्लपक्षको नवमी तिथिमा पर्दछ ।

धार्मिक ग्रन्थ रामायणका अनुसार यो चैत्र नवमीको दिनलाई भगवान श्री रामको जन्मदिनको रुपमा मानिन्छ । यो पर्व पनि चैत्र महिनाको बासन्तिय नवरात्रमा पर्ने भएकोले यस दिन भगवान श्री रामका साथै जगज्जनी श्री भगवती माताको पनि पूजा गर्ने गरिन्छ । त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यानगरका राजा दशरथ र महारानी कौशल्याका पुत्रका रुपमा जन्मनु भएका श्रीराम वास्तवमा भगवान श्री विष्णुको सातौं अवतार हो । जब जब पृथ्वीमा दानविय शक्ति हावी हुन थाल्छ तब तब भगवान श्री विष्णु विभिन्न अवतारमा जन्मनु हुने गरेको धार्मिक ग्रन्थहरुमा पढन पाइन्छ । श्रीरामको जन्म पूर्व स्वर्गलोक देखि मृत्यलोक समेतका देवगण, ऋषिगण तथा ब्राÞमण आदि सबै राक्षसराज लंकाधिपति रावणको अत्याचारबाट आहत थिए । त्यसैले राक्षसहरुको अत्याचारबाट सबैलाई मुक्त गर्न भगवान श्री विष्णु रानी कौशल्याको गर्भबाट जन्मनु भयो भने राजाका दाश्रो पत्नी कैकैयीबाट एक पुत्र भरत र कान्छी पत्नि सुमित्राबाट दुई पुत्र लक्ष्मण र शत्रुघनको पनि जन्म भयो । चारै भाईहरुको सानैदेखि शिक्षादिक्षा गुरु बशिष्ठबाट भयो । पछि ऋषि विश्वामित्रले आफ्नो यज्ञको रक्षा व्यवस्था मिलाउन आफ्नो आश्रममा लिएर गएको बेला जनक नन्दिनी सीताको स्वयंम्बरको उदघोष भयो । सो स्वयंबरमा कसैले नसकेको भगवान शिवको धनु श्रीरामले सजिलै संग उठाइ ताँडो चढाई उठाउँदा धनु खण्डित गरी सीतासंग विवाह भएको उल्लेख गरिएको छ । श्रीरामको लोकप्रियता तथा बेला पनि भएकोले राजा दशरथले श्रीरामलाई राज्याभिषेक गरि दिने निश्चय गर्दा राजाका दोश्रो रानीको वाचा पूरा गर्न श्रीरामलाई चौध वर्षको वनवास पठाउनु पर्ने भयो । आफ्ना पिताको वचन शिरोपन गर्देै श्रीराम साथमा सीता तथा भाई लक्ष्मणसंग वनवास लाग्नु भयो । वनवासको अवधिमा माता सीतालाई लंकाधिपति रावणले हरण गरेर लैजान्छ । यही बेला रामको भेट हनुमान तथा राजा सुग्रिवसंग हुन्छ र यही वानर सेनाको सहायताले श्रीरामले माता सीताको अस्मिता रक्षा गर्न तथा रावणको असुरमुखी व्यवहारबाट संसारलाई बचाउन भगवान श्रीरामले रावणको वध गर्नुभएको थियो भनिन्छ । यसरी रावणको वध गर्न देवी दुर्गाले श्रीरामलाई मददत गर्नु भएको थियो भनिन्छ । चैते दशैंको दिन भगवान श्रीराम आफनो चौध वर्षै वनवास सकेर सकुशल अयोध्या आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्य माथि सत्यको विजय भएको उपलक्षमा पनि चैते दशैं मनाएको भन्ने मान्यता रहेको छ ।

श्रीराम अवतारमा भगवान श्रीरामले सदैव मर्यादा पुरुषका रुपमा एक सदाचारी आदर्श चरित्रलाई स्थापित गर्नु भयो । धार्मिक ग्रन्थ रामायणमा श्रीरामलाई आदर्श एवं सदगुणका खानी, धर्म परायण, पितृभक्त, गुरुभक्त, भातृप्रेमी, साधु संरक्षक, पवित्रताका प्रतिमूर्तिका साथै आदर्श पुरुषको रुपमा व्याख्या गरिएकेो पाइन्छ । आदर्श शासक रामको राज्य शासन सम्पूर्ण मूल्य मान्यताहरु जनकल्याणमा आधारित भएर नै राम्रो राज्य संचालनलाई गरेकोले आज पनि रामराज्यको उदाहरण दिइने गरिन्छ । भगवान श्रीराम आफु राजा भइसके पछि आफना राज्यका प्रजाहरुले आफु प्रतिको चर्चा सुनेपछि सामाजिक मान्यताको मर्यादाको रक्षाको लागि आफनी रानी सीतालाई पुन जंगल पठाएका थिए । अश्वमेघ यज्ञ गर्दा पति पत्नी दुवैजना नै यज्ञमा बस्नु पर्ने अवस्थामा पनि सीताको ठाउँमा सुनको सीताको मूर्ति राखी यज्ञ सम्पन्न गरेका थिए भने एकै पत्नीका निष्ठावान पती भएको उदाहरण दिएका थिए । रामनवमीेको दिन हिन्दु भक्तजनहरु भगवान रामको पूजा आराधना गर्ने किर्तन गर्ने रामनामको जाप गर्ने र ब्रत बस्ने गर्दछन् । भगवान रामको दर्शन गरेर दर्शनार्थीहरुले आफना दुर्गुणहरु हटाई सदाचारी बन्ने शक्ति प्राप्त गर्दछन् ।

तानसेनमा श्रीनगर डाँडास्थित श्री गणेश मन्दिरको तल राम मन्दिर रहेको छ । यो मन्दिरको निर्माण अम्बिका प्रसाद लाकौलले आफ्नो जग्गामा बनाइएको भएतापनि मन्दिर बनाउन अन्य भक्तजनहरुको सहयोग रहेको छ । हाल यो मन्दिर निजका सन्तानहरुले नेपाल नेत्र ज्योति संघ, पाल्पा लायन्स लार्कौल आँखा अस्पतालको संरक्षणमा रहने गरी दिएको छ । यो मन्दिर तलबाट माथि चुच्चो भएर गएको छ यस प्रकारको मन्दिरको शैली उत्तरी भारतका मन्दिरहरुमा पाइन्छ । यसलाई नागरा शैली भनिन्छ । चुच्चे आकारको गजुर भएको टावर शैलीमा निर्मित यो मन्दिर भित्र संगमरमरको राम, सीता, लक्ष्मणको उभिएको मूर्ति लश्करै राखिएका छन भने तल पटिट नमस्तेको मुद्रामा हनुमान तथा अन्य देवताहरुको मूर्तिहरु राखिएका छन । मन्दिरको आकार सानो भएकोले भित्र एकजना मात्र बसेर पुजा गर्न मिल्छ । यो मन्दिर भक्तजनहरुको दर्शनबाट ओझेलमा परेको छ । वर्षभरी नै बन्द जस्तो अवस्थामा रहने भएकोले यो मन्दिरमा खासै भक्तजनहरु जाँदैनन् । वर्षको एकदिन रामनवमीको दिन केही भक्तजनहरु मात्र यस मन्दिरमा पुग्दछन् । भजन किर्तन, पूजाआजा हुन्छ तथा प्रसाद वितरण गर्ने गरिन्छ । यो मन्दिर करिब करिब ओझेलमा नै छ । यस्को संरक्षणमा खासै चासो कसैको देखिदैन । अस्तु !
(लेखक देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update