Shittalpati
प्रदूषण कम गर्नेतर्फ ध्यान दिऊ

पछिल्लो समय प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । यसका धेरै कारण छन् । हावा प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धुलो मानिन्छ । कलकारखाना या जंगलको डढेलोबाट तमाम किसिमका हानिकारक तत्व हावामा मिसिन्छन्, जसले पर्यावरणमा प्रदूषण फैलाउँछन् । जब जंगलमा आगो लाग्छ त्यसबाट वनजंगल डढेर खरानी हुन्छ र यही खरानी जब हावामा मिसिन्छ प्रदूषण फैलिन्छ । दोस्रो सबैभन्दा ठूलो कारण आवादी बढ्नु हो । बढ्दो आवादीसँगै मानिसका आवश्यकता पनि बढ्छन् । खाद्यान्नदेखि सवारीसाधनसम्मको उपयोग बढ्छ । जसले गर्दा वातावरणमा तीव्र प्रदूषण बढ्छ र मानिस अनेकौं रोगको सिकार बन्छ । वायु प्रदूषणका कारण दिनप्रतिदिन मानवीय स्वास्थ्य बिग्रँदो छ । अनि पर्यावरणमा पनि यसको नराम्रो प्रभाव पर्दो छ । सवारीसाधन एवं कलकारखानाको चिम्नीबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्छ । यसले वातावरण प्रदूषणमा मुख्य भूमिका निभाइरहेको छ ।

केही दिनदेखि काठमाडौं सहित केही जिल्लाहरुमा वायु प्रदूषण बढ्दो छ । मौसम परिवर्तनसँगै प्रदूषण बढ्दै गएकाले रुघाखोकीका बिरामी बढ्दैछन् । जनघनत्व र सवारीसाधनको उच्चचाप रहेका अन्य सहरहरू पनि केही दिनयता धुम्म भएका समाचार आइरहेका छन् । अकस्मात उत्पन्न भएको यो असामान्य अवस्थाले तत्काल स्वास्थ्यमा खराबी नदेखाए पनि दीर्घकालीन असर पर्न सक्छ । प्रतिकूल मौसमले उत्पन्न गरेको यो अवस्थाबाट जोगिन सकिएन भने कुनै पनि बेला स्वास्थ्य समस्याको सामना गर्नुपर्ने पक्का छ । यसको एक मात्र उपाय भनेको व्यक्तिगत सतर्कता नै हो । वायु प्रदूषण डढेलो, उद्योग कलकारखाना, यातायातबाट निस्कने धुवाका कारण वायु प्रदूषण बढ्दो छ । यो कम गर्न पनि सकिन्छ । वन डढेलो नियन्त्रण गर्न समयमा वन संवद्र्धनका काम गर्नुपर्छ । झाडी सफा गर्ने, अग्नि रेखा निर्माण गर्ने, कन्ट्रोल वर्निङ समयमा गर्ने तथा वन डढेलाबाट हुने नोक्सानी बारे जनचेतना बढाउने काम गर्नु पर्दछ । पानीका मुहान संरक्षण गरी जोखिमलाई न्यूनीकरण गर्ने तथा वनड ढेलो निभाउने उपकरणको उचित व्यवस्थापन गर्नु पर्दछ । उद्योग कलकारखाना र सवारी साधनहरुबाट निस्कने धुवा, धुलोलाई व्यवस्थापन गर्न सकियो भने वायु प्रदूषणलाई केही हदसम्म भए पनि कम गर्न सकिन्छ । तसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update