Shittalpati
खेलकुद दिवसको सार्थकता

शान्तिका लागि खेल महत्वपूर्ण छ । सामान्यतः मन बहलाउन, मनोरञ्जन गर्न वा व्यायामका लागि खेल्ने वा कुद्ने कार्यलाई खेलकुद भन्ने गरिन्छ । खेलकुदले मानिसलाई फुर्तिलो र निरोगी बनाउनुका साथै अनुशासित र समूहमा मिलेर काम गर्न सक्ने बनाउँछ । खेलकुदले मान्छे मान्छेबिच सामूहिक भावनाको विकास गराउनुका साथै आपसी प्रतिस्पर्धाको भावना जगाउँछ । यसले एकातिर प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गराउँछ भने अर्कातिर आपसी भाइचाराको भाव जगाउँछ । खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि हरेक वर्ष अप्रिल ६ मा विश्व खेलकुद दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर खेलकूदका कार्यक्रहरु गरि यो दिवस मनाइदैं छ । खेलकुद दिवस संयुक्त राष्ट्रसंघ(यूएन) को आह्वानमा सन् २०१४ देखि मनाउन थालिएको हो । नेपालमा पनि २०१५ यता यो दिवस निरन्तर रूपमा मनाइँदै आएको छ ।

नेपालमा हरेक वर्ष यो दिवस मनाइए पनि खेलकूद विकासमा देखिएका समस्याहरु भने जस्ताको तस्तै छन् । यो अत्यन्त दुःखको कुरा हो । सरकारले खेल दिवसका लागि ठूलो मात्रमा बजेट विनियोजन गरे पनि त्यसको सहि सदुपयोग भने हुन सकेको छैन । खेलकुद नीतिको तीखो अभाव र निषेधको राजनीतिका कारण नेपालमा खेल क्षेत्रको विकास हुन सकेको छैन । मुलुकमा हरेका क्षेत्रमा विकासका प्रचुर सम्भावना छरिएर रहेजस्तै खेलक्षेत्र मात्र अपवाद रहन सक्दैन । यहाँ खेलमैदान र स्तरीय रंगशालाको उचित व्यवस्था हुन सके पनि खेलकुदले राम्रो फड्को मार्न सक्छ । मात्र सरकारसँग खेलकुद क्षेत्रको विकास गर्ने इच्छा र आकांक्षा हुनुपर्दछ । राष्ट्रको पहिचान, सम्मान र गरिमा अभिवृद्धि गर्न पनि खेलकुदको विकास अपरिहार्य नै छ । खेल क्षेत्र आर्थिक पाटोसँग पनि जोडिएको छ । विकसित र विकासशील राष्ट्रहरूमा खेलकुदको व्यवसायीकरण भई अर्थतन्त्रमा राम्रो योगदान समेत गरेका छन् । विभिन्न अध्ययनले समेत यसको पुष्टि गरेका छन् । विश्वकप फुटबल, ओलम्पिक खेलकुद, महादेशीय खेलकुदलगायत ठूला खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि विभिन्न राष्ट्रको प्रतिस्पर्धा केवल राष्ट्रिय गौरवका लागि मात्र नभएर यसमा बहुआयामिक पाटाहरू रहेका हुन्छन् । विभिन्न आयाममध्ये आर्थिक पाटो एक मुख्य पाटो हो । ठूला खेलकुदका महोत्सवहरूबाट भौतिक पूर्वाधारहरूमा लगानी वृद्धि हुने, रोजगारी सिर्जना हुने, वैदेशिक लगानी वृद्धि भई अर्थतन्त्रमा गुणात्मक प्रभाव पार्ने गर्छ । यसर्थ खेलकुदले सामाजिक–आर्थिक क्रियाकलपमा बहुआयामिक प्रभाव पुर्‍याउँछ । यसर्थ खेल क्षेत्रको विकास र विस्तारमा ध्यान दिन सके मात्र खेलकूद दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update