Shittalpati
तरलता संकट समाधान गर

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास विस्तारै कम हुँदै गएपनि बैंकहरुमा देखिएको लगानी योग्य रकम (तरलता) अभाव भने अहिलेसम्म पनि जारी छ । कर्जा लगानीमा आक्रामक बनेका बैंकहरुको निक्षेप संकलन भने सुस्त हुँदा यो समस्याले अहिले पनि निरन्तरता पाएको हो । सामान्यतया बैंकको जति निक्षेप संकलन हुन्छ त्यो भन्दा कम मात्रै कर्जा लगानी हुनुपर्छ । तर बैंकहरुमा पछिल्लो समय कर्जाको एकदमै न्युन प्रतिशतमात्रै निक्षेप संकलन भएको छ । यो आफैमा दुखद् हो । बैंक तथा वित्तीय क्षेत्रमा आवश्यक नगद प्रवाहको कमी नै वास्तवमा तरलता अभाव हो । निक्षेपकर्ताको निक्षेपबमोजिम फिर्ता गर्न आवश्यक नगद मुद्रा नहुनुले तरलताको संकटलाई जनाउँछ । तरलताको संकटले लगानीयोग्य पुँजीमा कमी त ल्याउँछ नै, त्यसका साथै निक्षेपकर्ताले बैंकमाथि गरेको विश्वासमा पनि संकट सिर्जना गर्छ । आज बैंक तथा वित्तीय संस्थाहरू यसै संकटबाट पिरोल्लिरहेका छन् । राष्ट्र बैंकले समय–समयमा बैंकहरूलाई नगद प्रवाह गर्दै आए पनि बैंकमा नगदको उपलब्धता आवश्यक मात्रामा छैन । पछिल्ला दिनमा नगद प्रवाह कतातिर भइरहेको छ ? किन तरलता संकटको मात्र सिर्जना ? यस विषयमा थप अध्ययन–अनुसन्धान हुन जरुरी छ ।

विगतका महिनामा निक्षेप संकलन सुस्त भए पनि कर्जा लगानी बढाउँदै आएका वाणिज्य बैंकले फागुनदेखि भने कर्जा घटाएका छन् । बैंकर्सका अनुसार चैतको सुरुदेखि नेपाली मुद्रा निक्षेपमा २ खर्बले घट्न गएको छ । तर, उता कर्जा प्रवाह भने १ खर्ब बढेर गएको छ । यसबीचमा विदेशी मुद्रा निक्षेपमा केही सुधार भएपछि आशा भने पलाएको छ । यसले कर्जा प्रवाहमा केही झिनो भए पनि सन्तुलन मिलाउन सहयोग पु¥याएको छ । तर, पनि सापेक्ष स्थायी अनुपात कायम गर्न बैंकहरूलाई हम्मेहम्मे परिरहेको छ । अझै पनि पुँजीगत खर्च मनग्यै हुन सकिरहेको छैन । विकास निर्माणका लागि छुट्याइएको बजेट समयमै खर्च हुन नसक्दा पनि त्यसले तरलतालाई नै सहयोग गरिरहेको छ । तर, पनि विकास निर्माणमा क्रमशः हुँदै गएको खर्चका कारण निक्षेप–कर्जा सन्तुलनमा आउन सक्ने अनुमान कायमै छ । तसर्थ सरकारी तवरबाटै तरलता संकट समाधान गर्न विशेष र प्रभावकारी कदम चाल्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update