Shittalpati
समृद्धिको लागि कृषि

नेपाल कृषि प्रधान देश हो । तर, दुःखको कुरा कृषिमै परनिर्भर छ । पछिल्ला दिनमा त झन परनिर्भरता चुलिदो छ । वर्षेनी ठूलो परिमाणमा कृषिजन्यवस्तु बाहिरबाट आयात भइरहेको छ । परम्परागत कृषि प्रणालीका कारण अझै पनि नेपालले कृषिमा विकास गर्न सकेको छैन । कृषिमा निर्भर ठूलो जनसंख्या अन्य क्षेत्रमा लाग्दै गर्दा कृषिलाई प्रविधिसँग जोड्नुपर्ने बाध्यता बढ्दो छ । यसै पनि परम्परागत खेती प्रणालीमा सुधार नगरे नेपालले खाद्यान्न आयात बढाउनुपर्ने अवस्था देखिँदै छ । कृषिका लागि श्रमको अभाव हुन थालिसकेको छ । यस्तोमा कृषिलाई आधुनिकीकरण र यन्त्रीकरण गर्दै सूचना प्रविधिसँग जोड्नुपर्ने आवश्यकता छ ।

सूचना प्रविधिसँग जोड्न सके कृषिप्रति आकर्षण बढ्नुका साथै उत्पादन र उत्पादकत्वसमेत वृद्धि भई समृद्ध नेपालका लागि सहयोग मिल्नेछ । कृषि आधुनिक मानवजगतको समग्रता हो । खण्ड होइन, पूर्ण हो । हामीले कृषिलाई त्यही रूपमा ग्रहण गर्न सक्यौं भने कृषिले उत्पादन र समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । जति पनि मान्छेका आवश्यकता हुन्, ती सबै बिरुवाबाटै आपूर्ति हुन्छ । यसर्थ कृषिको लागि प्रकृति बुझ्नुपर्छ । कतिपय मानिस पेट्रोल छैन, इन्धन छैन भनेर गुनासो गर्छन् । तर नेपाल जस्तो पानी र बिरुवाको धनी देशमा इन्धनको समस्याले दुःख पाउनु भनेको अज्ञानता, अकर्मण्यताको पराकाष्ठा हो ।

तराईको एउटा मात्र जिल्लामा उखु, मकै, जेट्रौपा आदि लगाइदिने हो भने त्यसबाट उत्पादन हुने इथानोल र बायो डिजलबाट जत्ति पनि इन्धन उत्पादन हुन सक्छ । पानीबाट उत्पादन हुने बिजुलीको त कुरै अर्को । नेपालको विकासमा इन्धन समस्या होइन, नेपाली आफैं समस्या हो । हाम्रो मुलुक हावा, पानी र माटोको लागि निकै उपयुक्त देश हो । यसको उच्चतम प्रयोग गरेर उत्पादन बढाउँदै सदुपयोग गर्न सके धनी बन्न सकिन्छ । सरकारले कृषिक्षेत्रलाई प्राथमिकता दिएर अनुदानको व्यवस्था गरेको छ । कृषि बीमामा समेत अनुदान दिएको छ । तर, सरकारी अनुदानले कृषिलाई प्रोत्साहन गर्न र आधुनिकीकरणमा योगदान दिन सकेको छैन । केही टाठाबाठाले नक्कली कागजात बनाएर कुम्ल्याएको अवस्थासमेत छ । कृषिलाई यान्त्रीकरण र आधुनिकीकरणका लागि ठोस र व्यावहारिक कार्यक्रम ल्याउन आवश्यक छ । कृषि उपजमा करको व्यवस्था, भण्डारणको उचित व्यवस्था, करार खेती, जस्ता कुरालाई सही ढंगले कार्यान्वयनमा लैजान सके तथा सूचनाप्रविधिसँग जोड्न सके कृषिप्रति आकर्षण बढ्नुका साथै उत्पादन र उत्पादकत्वसमेत वृद्धि भई समृद्ध नेपालका लागि सहयोग मिल्नेछ ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update