Shittalpati
पिशाच चतुर्दशी र पाँहा चहेँ

मदन देउराली
आज पिशाच चतुदर्शी र पाँहा चन्हे काठमाडौं, उपत्यकाका नेवारी समुदायको एक प्रमुख चाड । यस चाडलाई नेवारहरुले परापूर्वकाल देखिनै चतुर्दशीको दिन मनाउँदे आएका छन । भनिन्छ फागुण कृष्ण चतुर्दशीको दिनमा भगवान शिवले पिशाचको रुप धारण गर्नु भएको थियो त्यसैले यस दिनलाई पिशाच चतुर्दशी भनिएको हो । नेवारी भाषमा पाँहा भनेको पाहुना चन्हे भनेको पर्व । अर्थात पाहुना बोलाउने पर्व । यस दिन काठमांडौ उपत्यकाका नेवारहरुले विहे गरी पठाइसकेका आफना चेलीबेटीहरुलाई घर व्यवहारले बराबर बोलाई रहन नभ्याईने हुँदा वर्षको एकदिन भए पनि अनिवार्यरुपमा निम्तो गरी भोज खुवाउनै पर्छ । त्यसैले आजको पिशाच चतुर्दशीको दिनलाई विशेष ठूलो चाडको रुपमा मनाउने गर्दछन् । यस दिन पिशाच रुपी भगवान शिबको पूजा आराधना गरि विशेष भोज चढाइन्छ भक्तजनहरु लुकु महाद्योका अर्थात् लुकेको महादेवको पूजा आराधना गर्दछन् ।

यस पर्बका मुख्य देवदेवीमा महादेव तथा अजिमा द्यो हो । आयुर्वेदशास्त्रको परिभाषा अनुसार कतिपय यस्ता रोगहरु छन्, जुन रोगहरु उत्पन्न हुनुमा कुनै शारीरिक कारण भने स्पष्टरुपमा देखिदैनन तर दैनिक कष्ट भने गराइरहन्छ । यस्ता रोगहरुलाई भूत दोषजन्य रोग भन्ने गरिएको छ । त्यसैले हाम्रा वरपर घुमिरहने दुष्टाआत्माहरुबाट छुटकारा पाउन यो पर्व मनाइएको पनि भनिन्छ । पिशाच चतुर्दशीको दिन देवदेवीहरुको पूजा गर्ने कुरा धार्मिक भावनामा आधारित भएतापनि यसको वास्तविक तात्पर्य मानिसको स्वास्थ्य संग जोडिएकोछ । जस्तै चैत्र महिना देखि क्रमशः गरम हुन थाल्दछ । गरम याममा विभिन्न प्रकारका भयानक रोगव्याधिहरुको प्रकोप शुरु हुन्छ तथा स्वस्थ्य मानिसहरु पनि अकस्मात यस्ता रोगहरुबाट पीडित हुन्छन् । आजको जस्तो रोगाणु विज्ञानको विषयमा ज्ञान नभएको उहिलेको जमानामा यसरी अकस्मात अज्ञात रोगहरुबाट आक्रान्त भई मानिसहरु मरेको देखेर जनताहरु भयभित हुनु स्वभाभिक थियो । त्यसैले यस्ता अदृष्यरुपी रोगहरुबाट बच्न भूत शान्ति गर्नुपर्छ भन्ने मान्यताले गर्दा चैत्र महिनाको चतुर्दशीलाई विशेष महत्वपूर्ण मान्दै आएको भनिन्छ ।

वास्तवमा यस्तो अदृष्य रोगहरु मुख्यत फोहर ठाउँबाट फैलिएको र विशेष गरी यस्तो स्थितिमा गरम यामको बखत घरको वरिपरी रहेको ढल तथा फोहर फाल्ने ठाउँको सरसफाइ राम्रो हुनु पर्छ भन्ने कुरा सर्वसाधारण जनतामा सचेत बोधगम्य बनाउन पनि धर्मको आड लिएको देखिन्छ । त्यसैले फोहर फाल्ने ठाउँहरुमा तथा ढलहरुमा महादेवको प्रतिक स्वरुपको अव्यक्त मूर्ति स्थापना गरेर ईश्वर रहेको ठाउँमा सुग्घर सफाई गर्नुपर्छ भन्ने वाध्य गराएको कुराले स्पष्ट गराएको देखिन्छ । वास्तवमा पिशाच चतुर्दशीको दिन यिनै महादेवको सुग्घर सफाइ गरेर पूजा हुन्छ । यस प्रकार पिशाच चतुर्दशीको दिन महादेवको पुजा गर्ने परम्परा पनि तान्त्रिकहरुकै देन भनिन्छ । हुनत आजकाल मानिसह्ररु भूतप्रेतमा खासै विश्वास गर्दैनन् तर यस्ता तत्वहरु हाम्रो समाज छ भनेर नै माता, धामी झाँक्रीहरुले स्वस्तीशान्ति, झारफूक गरेर सञ्चो तुल्याएका हामीले देखिरहेका छौं । भनिन्छ चतुर्दशीका दिन भूतप्रेत जागृत हुन्छन् त्यसकारणले यस दिन तान्त्रिकहरु मन्त्र विद्याद्वारा त्यस्ता भूतप्रेत हटाउन सक्रिय हुन्छन् । आज पनि कतिपय मानिसहरुलाई कहिलेकाहीं सानोतिनो रोगहरु लाग्यो भने पक्कै पनि भूतप्रेत, बोक्सी लाग्यो भनेर धामी, झाँक्री, माता, तान्त्रिककोमा पुग्ने गरेको र उनीहरुले झारफूक आदि गरेर सञ्चो बनाइ दिएको पनि देखिएकै छ । यो त विश्वास हो । भूतप्रेत पिशाच भगवान श्री महादेवका गण हुन् । यिनीहरुको पनि आफनै अस्तित्व रहेको विश्वास गरिन्छ । त्यसैले पनि भगवान श्री महादेवको पूजा गरिन्छ ।

यस दिन काठमाडौं वरपर रहेका देवदेवीहरु अजिमाहरु लगायत गणेश र भैरवको रथयात्रा गर्ने गरिन्छ । साँझपख टोलटोलमा रहेको लुकेको महादेवलाई लाई आÞवान गरी मूलाको, रायोको फूलले पूजा गरी विशेष प्रकारको भोज सहित पूजा गर्दछन् । लुकेर बसेको महादेवलाई मासु सहितको समयबजी खाएको अरुले नदेखोस् भनेर तोरी र मुलाको फूलले छोप्ने परम्परा रहेको भनिन्छ । अरु दिनमा मासु नखाने महादेवलाई यसदिन मासु सहितको भोजन गराइन्छ । यो पूजा साँझपख गरिन्छ तथा पूजा पछि भोज खाने चलन रहिआएको छ । लुकुँवि अर्थात सूर्यास्त पछि गरिने पूजा भएकोले लुकुमहाद्यो भनिएको भनिन्छ । यस पर्वको अघिल्लो दिन नै आफ्ना घर वरपर रहेका फोहरका थुप्रो, ढल आदि सफा गर्दछन् । यसो गर्नु भनेको लुकेर बसेको महादेवलाई सरसफाई गर्ने हो । भूत प्रेत पिशाचबाट मुक्तिका लागि यस दिन आफ्नो घर आगन सफा गरी फोहर फयाकिएको ठाउँमा लुकेर बसेको महादेवलाई आÞवान गरी जाँड रक्सी लसुन, अदुवा, मासु आदि राखी महादेवलाई चढाइ विधिपूर्वक पूजा गर्दछन्, प्रसाद लिने गर्दछन् तथा भोज खाने चलन रहेको छ । यस बारेमा विभिन्न किंवदन्तिहरु पाइन्छन् ।

शनिग्रहले आजदेखि साढेसातको दशा प्रारम्भ भयो भन्दै महादेवलाई छुन लागेपछि महादेव भागेर फोहरको थुप्रोमा साढे सात वर्षसम्म लुकेको थियो रे र त्यसरी लुकेको महादेवलाई सरसफाई गरेर वर्षको एकपटक तोरी र मुलाको फूल चढाई नेवारी परम्परा अनुसार मासु सहितको समयबजी राखेर पूजा गर्ने चलन छ । अर्को किंवदन्ति अनुसार पार्वती महादेवकी अधाँगिनी शक्तिकि देवी हुनुहुन्छ उहाँलाई पूजा आराधना गर्दा मद्यपान, माँसले पूजा गरिन्छ तर महादेवले यसरी माँस, मद्यपान गर्दैनन् । त्यसैले यो अपठयारो परिस्थिति लाई महशुस गरी महादेव लुकेर पिशाचरुप धारण गरी माँस मद्यपान तथा अन्य खानेकुरा खाएर पार्वतीलाई देखाउनु भएको रे । त्यस्तै गरी महाकाल तन्त्र शिववचन शास्त्र अनुसार यस दिन महादेव (लुकु महाद्यो)लाई मासु, रक्सी, जाँड, लसुन आदि चढाई पूजा गर्ने तथा अजिमाहरुको दर्शन गरेमा सिद्धि प्राप्त हुन्छ र भोलिपल्ट घोडा जात्रा गरेमा भविष्यमा ज्ञान प्राप्त गर्न सकिन्छ अर्थात घोडा जति बेगले दौडन सक्छ त्यति नै देशमा दुःख कष्ट हराउने तथा शत्रु नाश हुन्छ भन्ने मान्यता अनुसार नै घोडा जात्रा मनाइएको पनि भनिन्छ । भगवान महादेवलाई चढाउन बनाएका परिकार पाहुनालाई पनि खुवाउने गरेकोले पाँहा चन्हे भनिएको पनि भनिन्छ ।

त्यस्तै अर्को किंवदन्ती अनुसार पौराणिक ग्रन्थमा भगवान शिवजीले भष्मासुर नामक राक्षसलाई उनको तपस्यादेखि खुसी भएर जसको शिरमा हात राख्छ भष्म हुनेछ भनेर वरदान दिनु भएछ । वरदान पाए पछि यस्को परीक्षण गर्नलाई आफनो अगाडि शिवजीलाई नै देखि शिव कै शिरमा हात राख्न जाइलागे । त्यो देखेर शिवजी डराएर भाग्दै जाँदा रछयानमा लुकेर ज्यान बचाए । उक्त कुरा भगवान विष्णुले थाहा पाएर मोहिनी रुप लिई भष्मासुरलाई भुल्याई आफ्नै शिरमा हात राख्न लगाई भष्म गराएछन् । पछि शिवजीलाई रछयानबाट निकाली सफा गरी पवित्र बनाइ पूजा गरेछन् । त्यसदिनदेखि यस दिनलाई पिशाच चतुर्दशी भन्ने गरिएको तथा लुकेर बसेको लुकुवा महादेवको पूजा गर्न थालिएको भनिन्छ । विभिन्न समयमा काठमाडौं उपत्यकाबाट विभिन्न कामको सिलसिलामा तानसेनमा आएका र पछि यहीं स्थापित भएका केही नेवारहरुले मात्र यो चाड मनाउँछन् । सबैले मनाउँदैनन् ।

काठमाडौं उपत्यकामा जस्तो तानसेनमा बहाल, चौक नभएको साथै आफना वरपर त्यसरी फोहर थुप्रने पनि नगरेको कारणले पनि धेरैले यो चाड नमनाएको पनि भन्दछन् । तर यस दिन चाड नमनाए पनि विहान श्री रण उजिरेश्वरी भगवती मन्दिर तथा विभिन्न शिव मन्दिरहरुमा गई पूजा आराधना गर्ने गर्दछन् । त्यसपछि आफ्नो घरमा रहेको सवै देवीदेवताहरुलाई पूजा गर्दछन् । पूजा पछि निम्त्याईएका आफ्ना छोरी जुवाँइहरु तथा अन्य सबै परिवार एकै ठाउँमा जम्मा भई पाँहा चन्हेः मनाई भोज खाने गर्दछन् । अस्तु !

(लेखक देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update