Shittalpati
पर्यटन विस्तारमा जोड देऊ

कोरोना महामारीका कारण नराम्ररी थलिएको देशको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीले गाजेको पर्यटन क्षेत्रमा अहिले केही सकारात्मक संकेतहरु देखिन थालेका छन् । विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रमा अहिले बिस्तारै चहलपहल देखिन थालेको छ । पाल्पा लगायत देशभरका सबै पर्यटकीय तथा धार्मिक क्षेत्रमा पर्यटकहरु बढ्न थालेका छन् । देशका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकहरुको दिनहुँ आगमनभई रहको पाइएको छ । लामो समयदेखि पर्यटकलाई पर्खिएका रमणिय क्षेत्रहरु अहिले सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुमा देखिनुलाई पक्कै पनि सकरात्मक मान्नुपर्छ ।

कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशंकीत भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसंख्याले लगाइसकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने संकेत देखिएको छ । अहिले कोरोना महामारी केही मत्थर भएसँगै होटेलहरूको अकुपेन्सीमा केही सकारात्मक संकेत देखिन थालेको छ । यस्तो अवस्थामा सरकारले केही सहजीकरण गरिदिने हो भने यो व्यवसायको पुनरुत्थान हुने सम्भावना देखिएको छ । सरकारले पर्यटनलाई राहत र सुविधा दिनुको साथै प्रवद्र्धनात्मक कार्यमा सहयोग गर्नुपर्छ । कोरोना महामारीका कारण सबैभन्दा बढी र लामो समयसम्म प्रभावित क्षेत्र पर्यटन नै हो । सरकारले दिने सहुलियत पर्याप्त नपाउने क्षेत्र पनि पर्यटन नै हो । अर्थतन्त्रका प्रायः सबैजसो क्षेत्रले गति लिन थाले पनि पर्यटनको अवस्थामा खासै सुधार आउन नसकेको बेला होटेलहरूको अकुपेन्सीमामा देखिएको वृद्धिले सकारात्मक सञ्चार प्रवाह भने भएको छ । महामारीका कारण व्यवसाय ठप्प भएपछि केही व्यवसायी यसबाट पलायनसमेत भए । यसले देशको अर्थतन्त्रमा ठूलो असर पुग्न गएको छ । यो असरलाई ध्यानमा राख्दै सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र पर्नै पर्छ । क्रमश विदेशी पर्यटकको आगमन बढ्न थाल्दा पर्यटन क्षेत्रमा सुधार हुने अपेक्षा गरिए पनि सरकारी निकायले पर्यटन क्षेत्रलाई गतिशील बनाउन ध्यानदिनैपर्छ । अहिले नेपालको पर्यटनलाई आन्तरिक पर्यटनले नै बचाएको छ । त्यसैले आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने नीति ल्याउनुको साथै दिगो र गुणस्तरीय पर्यटन प्रवद्र्धन गर्नेगरी रणनीति सरकारले तय गर्ने दिशामा ध्यान दिनुहोस् ।

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update