Shittalpati
इमान्दार र सक्षम व्यक्तिलाई जिताऔं

स्थानीय तहको निर्वाचन नजिकिँदै छ । राजनीतिक दलका नेताहरुले आ–आफ्ना चुनावी अभियानलाई व्यापक बनाएका छन् । अहिले नै उम्मेदवार तय नभए पनि पार्टीलाई जिताउन राजनीतिक दलहरु कम्मर कसेर लागेका छन् । उनीहरु अहिले मतदातालाई रिझाउनमै व्यस्त छन् । यो समय भनेको आमनागरिकले आफ्नो मत सही ठाउँमा उपयोग गर्ने हो । स्थानीय तहमा कस्तो नेतृत्व ल्याउने भन्ने निर्णय आम जनताको हातमा छ । स्थानीय तहको निर्वाचन प्रत्यक्ष जनतासँग सम्बन्धित रहेकाले कस्तो नेतृत्व छनोट गर्ने भन्ने कुरा स्वयम जनतामा नै निर्भर हुन्छ । यति बेला जनताले विवेक पु¥याएर मतदान गर्नु पर्छ । पाँच वर्षको कुरा हो ।

जनताले सहि नेतृत्व चयन गरे भने पाँच वर्षसम्म सोही अनुरुप विकास निर्माण र समृद्धिको उपभोग गर्न पाउँछन् । संघीय शासन व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन दोस्रोपटक हुन गइरहेको छ । त्यसैले पनि यो निर्वाचनको विशेष महत्व छ । हिजोको दिनमा स्थानीय तह र त्यहाँका जनप्रतिनिधिले जेजस्ता काम गरे पनि उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासमा निर्वाह गरेको भूमिकालाई सकारात्मक रूपमा नै लिनुपर्छ । यद्यपि, हिजोका दिनमा धेरै स्थानीय तहमा अनेक खालका विकृति देखापरेका थिए र अहिले पनि ती विकृति यथावत् छन् । आगामी दिनमा त्यस प्रकारका विकृति देखा नपर्ने गरी जनस्तरबाटै सजगता अपनाउन जरुरी छ । संघीय शासनको मूल मर्म भनेकै जनताको घरदैलोको सेवा हो । यसरी घरदैलोबाट सेवा दिने दायित्व स्थानीय तहकै हो । त्यसैले स्थानीय तहमा आफ्ना प्रतिनिधि छनोट गर्दा गम्भीर रूपमा सोचविचार गरेर मात्रै छान्नु पर्छ । पछिल्लो समय निर्वाचन अत्यन्तै खर्चिलो बन्दै गइरहेको छ । स्थानीय तहमा निर्वाचन जित्न करोडभन्दा बढी खर्च गर्नुपर्ने अवस्था देखिन्छ । जबसम्म चुनाव जित्न त्यति धेरै खर्च हुन्छ तबसम्म राजनीतिमा विभिन्न खाले आर्थिक अपराधका घटना घटिरहन्छन् । यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न जनता नै सजग हुनुपर्छ । जसले अत्याधिक पैसा खर्च गर्छ उसलाई कुनै पनि हालतमा भोट दिनुहँुदैन । तसर्थ स्थानीय तहको विकास र समृद्धिका लागि सक्षम र इमान्दार व्यक्तिलाई मात्र जिताऔं ।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update