Shittalpati
प्रजातन्त्र दिवसको सार्थकता

आज प्रजातन्त्र दिवस, जहानीय हुकुमी शासन अन्त्य भएको दिन । १ सय ४ वर्ष लामो राणा शासनको अत्य गर्ने क्रममा आफु सहिद भएर पनि देशमा प्रजातन्त्र ल्याउँने कार्यमा अग्रसर अमर सहिदहरु प्रति श्रद्धासुमन । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा समाहित हुँदै गर्दा मुलुक अहिले आएर अत्यन्तै राजनैतिक गम्भीर अवस्थाबाट गुज्रिरहेको अवस्था छ अहिले । लोकतान्त्रिक संविधान निर्माण र लागु पछिका आधा दशकले वर्तमान व्यवस्थाप्रति पनि जनताको आस्थामा कमी आएको महशुस गरिएकोे छ ।

हिजो हाँसीहाँसी फाँसीमा चढ्दै गर्दा सहिदहरुले सत्तामा पुगिन्छ र सुख शैल गरिन्छ भन्ने भन्दा पनि देशलाई जहानीय शासनबाट मुक्त गरे पनि सन्ततिले प्रजातन्त्र प्राप्त गर्छन् भन्ने चिन्ता बाहेक कही पनि थिएन । तर आज हामीले त्यो अवस्थाको उपभोग गर्न पाइरहदा जनताका न्यूनतम आवश्यकता प्रति चिन्तित भए जस्तो लाग्दैन । सरकार घटकदलहरु बीचको सहमति पछि स्थानीय निर्वाचन अगामी २०७९ साल वैशाख ३० गते भित्र गर्ने सहमतिको वातावरण बनेपछि केही सकारात्मक वातावरण बनेको महशुस गरिएको छ । लोकतन्त्रको सुन्दरपक्ष भनेकै निर्वाचन हो, आवधिक निर्वाचनलाई सफल बनाउन सकियो भने मात्र लोकतन्त्रको अनुभूतिलाई जनताले प्रत्यक्ष अनुभव गर्न सक्छन् भन्ने यथार्थतालाई सफल पार्ने क्रममा यो निर्वाचन फलदायी हुने विश्वास गरिएको छ । निष्पक्ष निर्वाचनका लागि चाहिने शान्तिसुरक्षा अनि त्यही अनुरुपको वातावरणलाई कार्यान्वयन गर्ने दायित्व सरकारको हुन आउँछ । सरकार अनि मुलुकका राजनैतिक दलहरु सबैको सहभागितामा हुने यो निर्वाचन लोकतान्त्रिक संविधान कार्यान्वयनको महत्वपूर्ण पाटोका रुपमा अगाडि आउने विश्वास गरिएको छ ।

घर–घरमा सिंहदरवारको परिपूर्तिको उद्देश्य सहितको पहिलो स्थानीय निर्वाचनले धेरै हदसम्म स्थानीय जनताको अभिभावक भएको महशुस गरायो, अब सोही निर्वाचन दोस्रो कार्याकालका लागि हुँदैछ, त्यसले स्थानीय सरकारहरुको थप सवलीकरण र वास्तविक जनताको सरकार अनि सुनिने, देखिने र आभास गर्न सकिने खालको सरकारको आवश्यकतालाई परिपालना गर्ने हिसावबाट नेतृत्व चयनमा सबैको सहभागिता रहनु नै लोकतन्त्रको सफल पाटो हो भनेर भन्न सकिन्छ । नेपालको संविधानले परिकल्पना गरेका तीनवटा सरकार मध्ये सबै भन्दा प्रभावशाली र आमजनताका पीडाहरुलाई वोध गर्न सक्ने सरकार भनेकै स्थानीय सरकार हो । स्थानीय सरकार नभएको भए, विभिन्न समयमा देखापरेका विपद् र महामारीको सामना गर्न धेरै गाह्रो अवस्था थियो । त्यसकारण सहिदका सपनालाई साकार पारेर अगाडि बढेमा मात्र प्रजातन्त्र दिवसको सार्थकता रहनेछ ।

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update