Shittalpati
सरस्वती पूजा र यसको महत्व

आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज देशविदेशमा निष्ठापूर्वक र उल्लासमय तरिकाले मनाइँदैछ । हामीकहाँ बर्षभर मूख्य तीन देवीको पूजा गरिन्छ । लक्ष्मी, दुर्गा र सरस्वती । लक्ष्मी धनकी देवी । दुर्गा शक्तिकी । सरस्वती विद्याकी । वास्तवमा यी प्रतिकात्मक देवी हुन् । अर्थात् जीवनमा पूर्णता हासिल गर्नका लागि हामीसँग तीन चिजको खास महत्व हुन्छ, धन, विद्या र शक्ति । आज विद्याकी देवीको पूजा गरिने दिन । विद्या/ज्ञान/शिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षशिल, संयमित बनाउँछ । संगीत, कला, साहित्य एवं विद्याकी देवी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरिन्छ । यस दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ । बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीको रुपमा ज्ञानको प्रतिक मानेर पूजाआजा गर्छन् ।

आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त अर्थात् ऋतुहरुको राजा । वसन्तको सुरुवात हुने भएकाले यसदिनलाई वसन्त पञ्चमी भनिएको हो । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा तथा उपासना गर्नाले सबै प्रकारका ज्ञान, सिद्धि र सद्बुद्धि हासिल हुन सक्ने भनेर उल्लेख गरिएको पाइन्छ, जसका कारण पनि सरस्वती पूजाको महत्व बढ्दै गएको आँकलन गर्न सकिन्छ । गान्धर्व पुराणलाई आधार मान्ने हो भने आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ । विशेषगरी, श्रीपञ्चमीको दिनलाई विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरेर मनाउने परम्परा रहँदै आएको हुनाले सरस्वती माताको पूजा–अर्चना गरे विद्या र बुद्धि बढ्ने आमविश्वास रहेको छ । यो पवित्र दिनमा लेखपढ गर्न सिकाए राम्रो विद्या, बुद्धि र ज्ञान आउने मान्यताका कारण विद्यालयमा नपठाइएका स–साना बालबालिकाहरुलाई यसैदिनमा अक्षरारम्भ गराउने प्रचलन रहिआएको छ, त्यसैले सरस्वती पूजाको महत्व हाम्रो समाजमा अत्यधिक रहेको छ भन्दा अन्यथा हुँदैन । बालबालिकालाई अक्षरारम्भमात्रै नभई नाक, कान छेडिदिने परम्परा पनि समाजमा विकसित रहेको देखिन्छ । त्यस्तै विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक एवं धार्मिक कार्य गर्न वसन्तपञ्चमीको दिन कुनै पनि प्रकारको साइत हेर्न नपर्ने भन्ने आमविश्वास रहेको छ । यसर्थ पनि यसदिनको धेरै महत्व रहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update