Shittalpati
स्थानीय निर्वाचन अपरिहार्य

सरकार घटकदलहरु बीचको सहमति पछि स्थानीय निर्वाचन अगामी २०७९ साल जेठ भित्र गर्ने विषयमा सहमतिको वातावरण बनेपछि केही सकारात्मक वातावरण वनेको महशुस गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन निर्धारित समयमै गर्ने अठौट गरेपछि देखिएको सकारात्मक माहोलले सरकारका लागि थप उर्जाको वातावरण तयार भएको पनि चर्चा चल्न थालेको छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन हो । आवधिक निर्वाचनलाई सफल बनाउन सकियो भने मात्र लोकतन्त्रको अनुभूतिलाई जनताले प्रत्यक्ष अनुभव गर्न सक्छन् भन्ने यथार्थतालाई सफल पार्ने क्रममा यो निर्वाचन फलदायी हुने विश्वास गरिएको छ । निष्पक्ष निर्वाचनका लागि चाहिने शान्ति सुरक्षा अनि त्यही अनुरुपको वातावरणलाई कार्यान्वयन गर्ने दायित्व सरकारको हुन आउँछ । सरकार अनि मुलुकका राजनैतिक दलहरु सबैको सहभागितामा हुने यो निर्वाचन लोकतान्त्रिक संविधान कार्यान्वयनको महत्वपूर्ण पाटोका रुपमा अगाडि आउने विश्वास गरिएको छ ।

घर–घरमा सिंहदरवारको परिपूर्तिको उद्देश्य सहितको पहिलो स्थानीय निर्वाचनले धेरै हदसम्म स्थानीय जनताको अभिभावक भएको महशुस गरायो । अब सोही निर्वाचन दोस्रो कार्याकालका लागि हँुदैछ, त्यसले स्थानीय सरकारहरुको थप सवलीकरण र वास्तविक जनताको सरकार अनि सुनिने, देखिने र आभास गर्न सकिने खालको सरकारको आवश्यकतालाई परिपालना गर्ने हिसावबाट नेतृत्व चयनमा सबैको सहभागिता रहनु नै लोकतन्त्रको सफल पाटो हो भनेर भन्न सकिन्छ । नेपालको संविधानले परिकल्पना गरेका तीन वटा सरकार मध्ये सबैभन्दा प्रभावशाली र आमजनताका पीडाहरुलाई वोध गर्न सक्ने सरकार भनेकै स्थानीय सरकार हो । स्थानीय सरकार नभएको भए विभिन्न समयमा देखापरेका विपद् र महामारीको सामना गर्न धेरै गाह्रो अवस्था थियो । यस्ता खालका विभिन्न समस्याहरुको पहिलो समाधानको बाटोलाई स्थानीय सरकारले नै उपाय खोजी गर्ने हुँदा स्थानीय सरकारको महत्व र प्रभावकारिता अन्य सरकारको तुलनामा धेरै भएका कारण पनि यो निर्वाचन समयमै हुनु खुसीको कुरा हो । यो लोकतन्त्रको सुन्दर पक्षलाई सवल र सक्षम बनाउँने तर्फ सबै नलाग्दा सम्म हँुदैन । त्यसकारण शान्तिपूर्ण निर्वाचनको माहोल तयार गर्ने कार्यमा लाग्नु नै आजको आवश्यकता हो ।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update