Shittalpati
स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गरौं

कोरोना संक्रमण देशभर नै उच्च दरमा फैलिएको छ । पर्याप्त मात्रामा खोप लगाउन नसक्दा र स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमितको संख्या बढ्न थालेको पाइन्छ । नेपालमा पछिल्ला दिनहरुमा दैनिक १०/१२ हजारको संख्यामा नयाँ संक्रमित देखिएका छन् । परीक्षण गराएकामध्ये ५० प्रतिशतमा संक्रमण देखिनु चिन्ताको विषय हो । अतिविकसित र सम्पन्नशाली मुलुकले महामारीलाई चुनौतीका रुपमा लिएर नियन्त्रणका प्रयास गरिरहेका छन् । तर नेपालमा भने न सरकार संवेदनशील छ न जनता नै । स्वास्थ्यविज्ञहरुले अझै तीन साता कोरोना संक्रमणको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनले ‘ओमिक्रोन’लाई सामान्य नठान्न चेतावनीसमेत दिइसकेको छ । उसले कोरोना भाइरसको नयाँ भेरियन्टलाई सामान्य नठान्न दिएको चेतनावनी हामी सबैको हितका निम्ति हो । सरकार तथा सरोकारवाला निकायले लागू गरेका आदेश पनि हाम्रै लागि हुन् । सर्वसाधारणको जनजीवन कष्टपूर्ण नहोस्, दैनिक जीवन कसैको पनि प्रभावित नहोस्, रोगले भन्दा भोकले ज्यान जाने अवस्था नआओस् भनेर नै कडा खाले ‘लकडाउन’ लागू नगरिएको हो । संक्रमण वृद्धि भएको दर हेर्दा केही साता कडा लकडाउन नै गर्नुपर्ने अवस्था आइसकेको छ । यद्यपि यो अवस्था आउन नदिन हामी सबै नागरिक जिम्मेवार भएर जनस्वास्थ्यका मापदण्ड र भौतिक दूरी कायम राख्नै पर्छ ।

सरकारी तथा निजी क्षेत्रका कामकारवाहीहरू प्रभावित हुन थालेका छन् । सरकारले विद्यालय तथा विश्वविद्यालयका तहका नियमित पठनपाठन रोकेको छ । तर कोरोना विरुद्धको खोप अहिले पनि सहज नहुँदा सर्वसाधारण मर्कामा परिरहेका छन् । खोपका लागि अस्पताल तथा खोप केन्द्रमा असाध्यै लामो लाम देखिन थालेको छ । खोप केन्द्रहरू व्यवस्थित नहुँदा त्यहीबाट कोेरोना संक्रमण बढ्दै जाने खतरा छ । कोरोनाविरुद्धको खोप त्रिबना सार्वजनिक स्थलमा उपस्थित हुन तथा सार्वजनिक सेवा लिन नसक्ने सरकारीको नियम आफैमा स्वागतयोग्य छ तर खोप सहज र सुलभ अझै नभइसकेको अवस्थामा खोप केन्द्रहरू सर्वसाधारणको पहुँचमा पु¥याउनु अति आवश्यक छ । अहिले स्थिति डरलाग्दो भइसकेकोले सरकार र सर्वसाधारण सबै सचेत हुनैपर्छ । मास्क लगाउने, भीडभाडबाट अलग रही भौतिक दूरी कायम गर्ने, पटक–पटक हात धुने, सेनिटाइजरको प्रयोग गर्ने लगायतका न्यूनतम स्वास्थ्य मापदण्डले पनि कोरोनाबाट टाढा रहन ठूलो मद्दत गर्छ । तसर्थ स्वास्थ्य मापदण्डका उपायहरुलाई प्रभावकारी रुपमा परिपालना गरौं । आफु बाचौं र अरुलाई पनि बचाऔं ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update