Shittalpati
राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार भन्छन्– ‘जनताको आवाज बुलन्द गर्न मत दिनुहोस्’

रामचन्द्र रायमाझी
पाल्पा, राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुले जनताको आवाज बुलन्द गर्न आफुहरुलाई मत दिन मतदाताहरुसँग आग्रह गरेका छन् । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीन जना उम्मेदवारहरुले सोमबार तानसेनमा मतदाताहरुसँगको परिचयात्मक कार्यक्रममा जनताको आवाज बुलन्द गर्न आफुलाई मत दिन आग्रह गरेका हुन् ।

सत्तारुढ गठबन्धनतर्फ नेपाली काँग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्माले पाँच दलीय गठबन्धनका तर्फबाट आफुहरु राष्ट्रिय सभाका लागि उम्मेदवार बनेकाले जनताका समस्यालाई राष्ट्रिय सभामा सशक्त ढंगले उठाउन आफुहरुलाई अत्याधिक मतले विजयी बनाउन गाउँपालिकाका प्रमुख, उप–प्रमुखहरुलाई आग्रह गरेका छन् । उनीहरुले जनता र मतदाताहरुको अपेक्षालाई आफुहरुले कुनै पनि हालतमा कुठराघात हुन नदिने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका युवराज शर्माले आफुहरुलाई राष्ट्रिय सभामा भारी मतले विजयी बनाउन आग्रह गरेका छन् । उनले मतदाता र जनतालाई नै शिरमा राखेर आफु अगाडि बढ्ने बताउदै मतदाता र जनताले देखाएको विश्वासलाई कुनै पनि हालतमा मर्न नदिने उद्घोष गरे । उनले भने ‘पदलाई जहिले पनि फाटेको जुत्ताको रुपमा लिने गरेको छ,ु आफुले विजयी प्राप्त गरेपछि पनि पदलाई टाउकोमा नभई खुट्टामा राखेर अगाडि बढ्छु ।’ उम्मेदवार शर्माले विपिको विचारमा आफु अडिग रहेको बताउदै आगामी दिनमा पनि सोही विचारलाई आत्मसाथ गर्ने बताए । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार बनेकी राजेन्द्रलक्ष्मी गैरेले देशलाई गलत बाटोमा हिडाउनेहरुलाई परास्त गर्न र जनताको अपेक्षालाई पुरा गर्न आफुले राष्ट्रिय सभामा उम्मेदवारी दिएको बताएकी छन् । उनले जनताको आवाजलाई बुलन्द गर्न पनि आफुहरुलाई अत्याधिक मत दिन मतदाताहरुलाई आग्रह गरिन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका तुलप्रसाद विश्वकर्माले जनताले बोलेका कुराहरुलाई जस्ताको त्यस्तै सभामा उठाउनका लागि आफुहरु राष्ट्रिय सभाका लागि उम्मेदवारी दिएको बताए । उनले आफुहरुलाई विजयी बनाए जनताका आशा र अपेक्षालाई कुठाराघात हुन नदिने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन पाल्पाका मतदाताहरुलाई आग्रह गरे । उनले गठबन्धनका तर्फबाट समावेशी ढंगले उम्मेदवार बनेकाले विजयी गराउन सबैसँग आग्रह गरेका हुन् । सभापति श्रेष्ठले पाल्पाको शिक्षा र पर्यटनको विकास, विस्तारमा ध्यान दिन उम्मेदवारहरुलाई समेत अनुरोध गरेका छन् । कार्यक्रममा यादव बहादु रायमाझी, रामबहादुर कार्की, झपेन्द्र गरिहे, कृष्ण प्रसाद बस्याल, सन्तोष कुमार थापा मगर, निर्मला भट्टराई, मधुरा ढकाल, नेत्रप्रसाद पाण्डे, मोहन गैरे, करुणा काफ्ले, सोम कार्की, खिमानन्द पाण्डे, अनिल किशोर घिमिरे, विशाल दर्लामी लगायतले विजयी भएपछि जनभावना अनुसार काम गर्न उम्मेदवारलाई आग्रह गरे । कार्यक्रम नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको सभापतित्व, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नेत्रप्रसाद पाण्डेको स्वागत, जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी तीन रिक्त पदका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ । लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १५ गरी २ सय ९६ मतदाता छन् । पाल्पामा भने २६ मतदाता रहेका छन् । एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि महिलातर्फ भारती उपाध्याय खनाल, दलिततर्फ कृष्ण सुनार र अन्यमा रामदयाल गुप्तालाई उम्मेदवारी बनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update