Shittalpati
अर्थतन्त्र जोगाउनतर्फ ध्यान देऊ

कोरोना महामारीका कारण थिलो–थिलो परेको अर्थतन्त्र केही भएपनि उठ्न थालेको छ । कोरोनाका कारण लकडाउन गरिदा उद्योग, कलकारखाना र व्यापार व्यवसायी बन्द हुँदा नेपालको अर्थतन्त्र उठ्नै नसक्ने गरी थिलो–थिलो परेको थियो । पछि संक्रमणदर केही सहज हुँदै गएपछि भने अर्थतन्त्र उठ्न थालेको हो । तर अहिले फेरि संक्रमण दर बढ्न थालेपछि अर्थतन्त्र प्रभावित हुने चिन्ता बढ्न थालेको छ । नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरे तथा खोप नलगाए लकडाउन गर्नुको विकल्प नभएको हुँदा बेलैमा सचेत हुन पनि आवश्यक छ । कोरोनाको तेस्रो लहरले ख्यालख्यालमा नै संक्रमण दर बढाउन थालेपछि विस्तारै चलायमान हुन थालेको अर्थतन्त्रलाई जोगाउन आवश्यक छ । जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र खोप लगाउने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न जोड दिँदै सकेसम्म लकडाउन गर्नुपर्ने अवस्था आउन नदिन सरकारले समयमा नै तयारी थाल्नुपर्छ ।

यदि नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरे तथा खोप नलगाए लकडाउन गर्नुको विकल्प नभएको हुँदा बेलैमा सचेत हुन पनि आवश्यक छ । अन्यथा ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएका बेला नयाँ डेल्टाक्रोनको पनि पत्ता लाग्नुले स्थिति गम्भीर हुने देखिन्छ । हुन त नेपालमा ओमिक्रोन भेरियन्टको त्यति धेरै असर देखिएको छैन भने डेल्टाक्रोन नेपालमा आउन नदिन सरकारले सीमा नाकादेखि अन्तर्राष्ट्रिय हवाई यातायातसम्ममा सचेतता अपनाउने समय अझै छ । तर पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले भनेझैं पछिल्लो समय संक्रमण बढ्दो रूपमा रहेका कारण यस सम्बन्धमा प्रभावकारी कदम चाल्न आवश्यक छ । यसो गर्न सके मात्र विस्तारै चलायमान बन्दै गएको अर्थतन्त्रलाई जोगाउन सकिन्छ । अन्यथा कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले ठूलो नोक्सान खेपेको नेपाली अर्थतन्त्रलाई तेस्रो लहरले पुनः एक पटक धक्का दिनेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update