Shittalpati
काँग्रेसलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउन्छौं : सभापति पन्थी

रमेश विश्वकर्मा

गुल्मी, नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले पार्टीलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउने बताएका छन् । ८ औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि प्रथम पटक बी.पी स्मृति भवन तम्घासमा पत्रकार सम्मेलन गरेका सभापति पन्थीले काँग्रेसलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउने प्रतिवद्धता जनाएका हुन् । उनले अब पार्टीलाई समय अनुकूल प्रविधिमैत्री बनाउदै थप सशक्त, सुदृढ बनाउने दिशामा आफ्नो नेतृत्व अगाडि बढेको धारणा बताए ।

‘गुल्मी काँग्रेसको अठोटः सबल वडा, सक्षम टोल’ भन्ने नाराका साथ पार्टीलाई टोलदेखि नै संगठित गराउन अभियान नै सञ्चालन गरिएको सभापति पन्थीले बताए । ‘सबै वडातहमा उत्साह देखिएको छ, टोल समिति गठन नगरिएको स्थानमा सात दिनको समय नै दिएका छौं ।’ सभापति पन्थीले भने,–‘टोलबाट संगठित नभएसम्म सफल बन्न सकिदैंन् ।’ सभापति पन्थीले नेपाली काँग्रेस गुल्मी उत्साहजनक रुपमा अगाडि बढ्दै टोल समिति गठन, प्रत्येक वडामा पार्टी कार्यालय स्थापना, वडादेखि जिल्ला तहसम्मका बैठक नियमित सञ्चालन गरिरहेको बताए । गुल्मी काँग्रेसलाई विधानसम्मत चलाएर संगठन निर्माण गर्नका लागि व्यवस्थित कार्यक्रम सञ्चालन गरी जिल्लामा बृहत प्रशिक्षण कार्यक्रम पनि गर्न थालिएको सभापति पन्थीले जानकारी दिए । सभापति पन्थीले काँग्रेसलाई प्रविधिमैत्री बनाउने समेत दाबी गरे । विधि र विधान काँग्रेसको प्राण भएको भन्दै पार्टीको विधि र विधानलाई अक्षरंस पालना गर्ने बताए । पन्थीले संघीयतापछि जनतालाई महशुस हुनेगरी जनप्रतिनिधिहरु सेवक बन्नुपर्नेमा शासक बनेर जनतालाई दास बनाएको आरोप समेत लगाए ।

बसाइँसराई रोक्ने कार्यक्रमप्रति कसैको ध्यान नपुगेको भन्दै सभापति पन्थीले भने,–‘बजेट अहिले गाउँतिर छ, मान्छे भने शहरतिर केन्द्रित छ ।’ सभापति पन्थीले स्थानीय तहहरुले सडक विस्तार मात्र गर्ने तर सुधार र स्तरोन्नति नगर्ने गरेको प्रति लक्षित गर्दै यसरी स्थानीय तहहरुले विकासको फड्को मार्न नसक्ने दाबी गरे । कार्यक्रममा पत्रकारहरुले विभिन्न सुझाव समेत राखेका थिए । पत्रकार सम्मेलनको सहजीकरण नेपाली काँग्रेसका जिल्ला सचिव भगत सिंह खड्काले गरेका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेसका सह–सचिव छवि पाण्डे र धर्मराज पाण्डे, जिल्ला सदस्य अखिलेश्वर प्रसाद पाण्डे, उदय थापा, लिलाधर आचार्य, कृष्णप्रसाद पोखरेल, कल्पना पन्थी, सीता पाण्डे, महाधिवेशन प्रतिनिधि भगवती काफ्ले, विष्णुमाया विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष टोपलाल अर्याल, सचिव प्रेम सुनार, पूर्व सचिव तारा भुसाल, वर्तमान सह–सचिव तिलाचन पाण्डे लगायत जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update