Shittalpati
कोरोना सावधानी अपनाऔं

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले डेल्टा र ओमिक्रोनको मिश्रणबाट सुनामी आउने ‘चेतावनीयुक्त’ घोषणा गरेको केही दिनमै नेपालमा कोभिड संक्रमण ह्वात्तै बढेको छ । मंगलबार मात्र एकै दिन २ हजार ४ सय ४४ जनमा संक्रमण देखिएको छ । केही समय मत्थर बनेको कोरोना संक्रमणको ग्राफ पुनः बढ्न थालेपछि त्रास सिर्जना भएको छ । यहाँ दिनहुँजसो सक्रमण दर बढ्दै गएको छ । सुरुमा चीनमा देखापरेको यो रोग वा संक्रमण तीव्र गतिमा विश्वव्यापी बन्न पुगेको थियो । पहिलो लहर पहिलो एक वर्षसम्म फैलिएर अलिक साम्य भएको केही समयमै यसको दोस्रो लहर फैलिन पुगेको थियो । पश्चिमी देशहरूमा पहिलो लहरमै ज्यादै ठूलो मानवीय क्षति पुर्‍याए पनि नेपालमा तुलनात्मक रूपमा कम क्षति पुर्‍याएको थियो । दोस्रो वर्षमा फैलिएको दोस्रो लहरले नेपालमा तुलनात्मक रूपमा मानवीय क्षति बढी गरायो । अब यसको तेस्रो लहर ओमिक्रोन सुरु भएको छ । यो कति घातक हुने हो भनेर राम्ररी देखिएको छैन तर यसो भन्दैमा आँखा चिम्लिएर बस्नु हुँदैन । पुरानै भेरियन्टको संक्रमण नै फेरि बढ्दै जान थालेपछि अवस्था थप विराल बन्दै जानेमा विज्ञहरुले चिन्त व्यक्त गर्न थालेका छन् ।

संक्रमण बढ्दै जान थालेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयन गर्दै सरकारले मुलुकभरका सम्पूर्ण आधारभूत तथा माध्यमिक विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । विगत केही दिनयताको तथ्याङ्क विश्लेषण गर्दा विश्वका साथै नेपालमा पनि कोरोना तथा ओमिक्रोन भेरियन्टको संक्रमण निकै आक्रामक ढङ्गबाट बढिरहेको स्पष्ट रूपमा देखिन्छ । एक हप्ताअघिसम्म नेपालमा दैनिक एक सयको हारहारीमा कोरोना संक्रमित देखापरिरहेको स्थितिमा केही दिन यतादेखि यो संख्या बढ्दै गएर दैनिक संक्रमितको संख्या दुई हजार चार सयसम्म पुगिसकेको आँकडा छ । स्थिति यही रहेमा केही दिनमा यो संख्या निकै आकाशिने स्पष्ट छ । कोरोना संक्रमणको अहिलेको जटिल स्थितिबाट मुक्ति पाउने आधारका रूपमा व्यक्तिगत सरसफाइ, भीडभाड नियन्त्रण तथा सचेतना कार्यक्रम नै मुख्य हुन् । यसका साथै बुस्टर डोज लगाउनुका साथै मौज्दात खोपको अधिकतम प्रयोग गरेर कोरोना विरुद्धको खोप कार्यक्रमलाई सशक्तता साथ अगाडि बढाउनु अहिलेको आवश्यकता हो । तसर्थ संक्रमणबाट बच्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सावधानी अपनाउन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update