Shittalpati
‘सबल वडा सक्षम टोल’ अभियान सफल : गुल्मी काँग्रेस

गुल्मी, ‘गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल’भन्ने नाराका साथ सञ्चालन भएको अभियान उत्साहका साथ सफल भएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ । पार्टीको संगठनलाई थप विस्तार र शसक्त बनाउने गरी सञ्चालन गरेको उक्त अभियान सफल बनेको काँग्रेसले जनाएको हो ।

बुधबार जिल्लामा ९३ वडामा भएको भेला तथा वडाकार्यालय उद्घाटन जस्ता महत्वपूर्ण कामले गुल्मी काँग्रेस भित्र नयाँ जागरण थपिएको पार्टी सभापति खिलध्वज पन्थीद्वारा जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईका अनुसार अभियानका क्रममा ४० भन्दा धेरै वडाबाट ४ सय भन्दा धेरै युवाहरु अन्य पार्टीबाट नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरु विभिन्न मातृसंगठन र टोल समितिमा समाहित भएका कारण पनि पार्टीले नयाँ उर्जा प्राप्त गरेको काँग्रेसले महशुस गरेको छ ।

जिल्लाका ९३ वटै वडामा जिल्ला प्रतिनिधी खटाएर पार्टीको स्थानीयतहसम्म चुस्त र दुरुस्त सचिवालय, संसदीय प्रणाली अनुसारको बैंठक सञ्चालन तथा निर्णय प्रक्रिया र कार्यान्वयनका आधारहरु तयार गर्नु नै आफैमा संगठन मजबूत हुने क्रम शुरु भएको नेपाली काँग्रेस गुल्मीका अर्का सचिव भगत सिं खड्काले जानकारी दिए ।

१४ औं महाधिवेशन भए पछि पुस २१ गते भएको पहिलो बैंठकले पार्टीको तल्लोतहको संगठनलाई जुरुक्कै उठाउनका लागि गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल, अन्तरगतको अभियानमा जिल्लाका सबैवडाको विधिवत कार्यालय उद्घाटन तथा नियमित बैंठक राख्ने निर्णय गरेको थियो । पहिलो चरणको अभियान अभूतपुर्व रुपमा सफल भए पछि माघको पहिलो साता काँग्रेस गुल्मीले स्थानीयतह, प्रदेश र क्षेत्र तथा जिल्लाका पार्टी सभापति, सचिवहरुलाई प्रविधीको प्रयोग सूचना तथा सञ्चारको प्रभाव बारे दुई दिने गोष्ठी आयोजना गर्ने तयारी समेत शुरु गरेको सभापति पन्थीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update