Shittalpati
‘नेपालका कम्युनिस्टहरु पूर्ण रुपमा असफल’

गुल्मी, नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले नेपालका कम्युनिस्टहरु पूर्ण रुपमा असफल भएको बताएका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीमा नेपाली काङ्ग्रेस गुल्मीले संचालन गरेको ’गुल्मी काङ्ग्रेसको अठोट : सबल वडा सक्षम टोल’ अभियान कार्यक्रमको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस गुल्मीका सभापति पन्थीले नेपालमा कम्युनिस्टहरु पूर्ण रुपमा असफल भएको बताएका हुन् ।

’संघीयता पछि नेपाली जनताले कम्युनिस्टहरुलाई विश्वास गरेर बहुमत दिएर पठाए ।’ प्रमुख अतिथि जिल्ला सभापति पन्थीले भने, “बहुमत हुँदाहुँदै कम्युनिस्टहरुले सरकार चलाउन नसकेर नेपाली काङ्ग्रेसले सरकार चलाउने जिम्मेवारी लिनु प¥यो ।“ पन्थीले अब नेपाली काङ्ग्रेसको विकल्प अरु केही हुन नसक्ने बताएका छन् ।

गुल्मीबाट चुनाव जितेर गएका सांसदहरू पटकपटक मन्त्री बन्दा पनि गुल्मीको समाज रुपान्तरण हुन नसकेको पन्थीको भनाइ छ । संघीयता पछि गुल्मीमा दुवै सांसदहरु मन्त्री बनेकोमा आफू हर्षित बनेको भन्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति पन्थीले मन्त्री बनेकाहरु व्याक्तिगत र पारिवारिक स्वार्थमा लागेको आरोप लगाए थिए ।

कम्युनिस्टहरुले चुनाबमुखी प्रलोभन देखाएर जनतालाई सधैं गरिबी, विपन्नता र दासता अवस्थामा राख्ने चाहाने भएकोले त्यसबाट मुक्ति पाउन मदाने गाउँपालिकासहित सिर्सेनी वडामा नेपाली काङ्ग्रेसलाई भारी मतले विजयी बनाउन उपस्थित मतदाताहरुलाई आग्रह गरे । कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्रका दर्जनौं नेता तथा कार्यकर्ताहरु कांग्रेस पार्टीमा प्रवेश गरेका थिए ।

नेपाली काङ्ग्रेसको सोही अभियान अन्तर्गत उक्त वडामा महाधिवेशन प्रतिनिधि सुशिला भुसाल खटिएकी थिइन् । उक्त वडामा सभापति चेत बहादुर सेनको सभापतित्वमा सुरु भएको कार्यक्रमको संचालन सोही वडाका सचिव मधुसूदन अर्यालले गरेका थिए । ’गुल्मी काङ्ग्रेसको अठोट : सबल वडा सक्षम टोल’ भन्ने मुख्य नारा सहित गुल्मीमा नेपाली काङ्ग्रेस नयाँ अभियान शुभारम्भ भएको हो । जिल्लाका ९३ वटा वडामा जिल्ला तहका नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएर एकैसाथ अभियानको शुभारम्भ गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update