Shittalpati
राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह

गुल्मी, नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनारले राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन सबैमा आग्रह गरेका छन् । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमाले लुम्बिनी प्रदेशको तर्फबाट उम्मेदवारी दर्ता गराएका सुनारले आफुलाई विजयी गराउन सबैमा आग्रह गरेका हुन् । उनले पत्रकारसँगको भेटघाटमा आफुलाई जिताउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन् ।

राष्ट्रिय सभामा प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले मतदान गर्न पाउँछन् । उनी लुम्बिनी प्रदेशबाट दलितको तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनेका हुन् । गुल्मीबाट दलित आन्दोलनमा निरन्तर खटेको, सामाजिक आन्दोलनमा निरन्तर खटेको, छुवाछूतको विषयमा सधैं अग्रमोर्चामा रहेर विरोध गर्ने र सिङ्गो दलित समुदायलाई माथि उकास्न सुनारको मुख्य भूमिका रहेका कारण नेकपा एमाले गुल्मीले सबै प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति र स्थानीय पालिकाका प्रमुख–उपप्रमुखलाई मतदान गर्न आग्रह गरेको छ । उनलाई लुम्बिनी प्रदेश भरका प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्ने छन् । प्रदेश सभा सदस्यको मतभार प्रतिव्यक्ति ४८ र जिल्ला समन्वय समिति र स्थानीय पालिकाका प्रमुख–उपप्रमुखको मतभार प्रतिव्यक्ति १८ रहेको छ । राष्ट्रिय सभाको निर्वाचन नजिकिएसँगै चुनावी प्रचार–प्रसार सुरु हुन थालेका छन् । उम्मेद्वारहरुले चुनाव लक्षित गतिविधी गर्न थालेका छन् । निर्वाचनमा मत माग्न विभिन्न जिल्लाहरुमा पुग्ने भेटघाट गर्ने कार्यलाई तिव्रता दिन थालेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update