Shittalpati
धनेन्द्रराज घिमिरेको अध्यक्षतामा एमाले पाल्पाको नयाँ नेतृत्व चयन

कृष्ण पोखरेल
पाल्पा, नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनबाट धनेन्दराज घिमिरेको अध्यक्षतामा सर्व सहमतीबाट नयाँ नेतृत्व चयन भएको छ । एमाले पाल्पाको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल (रामजी) सहसचिवमा टिका थापा र सुनिता शर्मा चयन भएका छन् । निर्वाचित अध्यक्ष घिमिरे दुई पटकसम्म पार्टी सचिव भएर काम गरिसकेका छन् भने, उपाध्यक्ष लामिछाने यस अघि जिल्ला कमिटी सदस्य भई पार्टीको काम गर्दै आएका थिए । सचिव पोखरेल विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका युवा व्यक्ति हुन् । निवाचित भएका उपसचिव थापा पनि विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय भएका हुन् । थापा हाल बगनासकाली गाउँपालिका वडा नंं ३ का वडा अध्यक्ष रहेका छन् । शर्मा भने महिला राजनीतिमा सक्रिय हुँदै आएकी थिइन् ।

सर्वसहमतीबाट नेतृत्व चयनको लागि रातभरीको कसरतबाट लुम्बिनी सहईन्चाज दलबहादुर राना, पोलिटिव्युरो सदस्य एवं जिल्ला ईन्चाज ठाकुर गैरे, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलको सहजीकरणमा शनिबार विहान ४ बजे घिमिरेको अध्यक्षतामा नयाँ जिल्ला कमिटी घोषणा गरिएको हो । जिल्ला कमिटीमा दशै वटै पालिकाबाट ८१ वडा समेट्ने गरी ८१ जना, विभिन्न भातृ संगठनका गरी एक सय पाँच जना जिल्ला कमिटी सदस्य चयन भएका छन् भने अन्य १५ जना जिल्ला कमिटीको बैठकले मनोनित गर्ने बताइएको छ । एमाले पाल्पाले यस अघि भएका वडा, पालिका तथा केन्द्रिय महाधिवेशन प्रतिनिधी छनौट पनि सहमतीको आधारमा टुङ्गाएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update