Shittalpati
आगामी निर्वाचनमा बहुमत ल्याउँछौं : अध्यक्ष ओली

कृष्ण पोखरेल
पाल्पा, नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशन तानसेनको टिन्टीआपमा शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गर्दै आगामी तीन वटै निर्वाचनमा एमालेलाई बहुमतमा पुर्‍याउने बताए । पार्टी अध्यक्ष शर्मा एमालेलाई चारैतिरबाट प्रतिक्रियावादीले घेरा हालेपनि जनताको माझमा एमाले लोकप्रिय रहेको र सरकारमा रहँदा जनता केन्द्रित कार्यक्रम गरेकोले निर्वाचनमा बहुमत ल्याउने बताए ।

कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेशका सह–इन्चाज दलबहादुर रानाले देशीविदेशी शक्ति एमाले विरुद्ध लागिपरेको बताए । केपी ओली नेतृत्वको सरकारले जनतामा लोकप्रिय काम गरेको, ठूला–ठूला आयोजना शुरु गरेको, देशलाई अग्रगामी रुपान्तर तर्फ लगिरहेको समयमा पार्टी भित्रैबाट षड्यन्त्र गरेर परमादेशको आधारमा सरकार ढालिएको लुम्बिनी सह–ईन्चाज रानाले बताए । नौविसे काठमाडौं सुरुङ्ग मार्गको एमालेकै कपी ओलीको नेतृत्वमा भएको, सिद्धबाबा सुरुङ्गमार्ग काम गर्न बोलपत्र आÞवान भएको, प्रभास जोर्ते सुरुङ मार्गको लागि एमालेकै सरकारले योजना ल्याएको पूर्व भुमिसुधार मन्त्री रानाले बताए । कार्यक्रममा पोलिटिब्यूरो सदस्य एवं पाल्पा ईन्चाज ठाकुर गैरेले जनताको पार्टी भनेको नेकपा एमाले भएकोले आगामी स्थानीय निर्वाचनदेखि प्रदेश तथा केन्द्रिय निर्वाचनमा एमालेलाई विजयी बनाएर सक्रिय लाग्न पार्टी कार्यकर्ताहरुलाई अनुरोध गरे । अहिले बाटो बिराएर बाहिर गएका साथीहरुलाई एमालेमै गोलवन्ध गराएर ल्याउने ईन्चाज गैरेले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले नेकपा एमालेलाई लुम्बिनी अञ्चलमा बहुमतका साथ पहिलो पाटी बनाउने बताए । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा अधिवेशन सकिएपछि नयाँ नेतृत्वका साथ पाटीको विशेष अभियान सञ्चालन गर्ने अध्यक्ष कंडेलले बताए । कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य श्रृजना काफ्ले, लुम्बिनी काठमाडौं सम्पर्क मञ्चका संयोजक थानेश्वर बस्याल लगायतले एमाले पाल्पामा सधैँ पहिलो पार्टी रहेको र आगामी निर्वाचनमा पनि पहिलो पार्टीको सबै नेता कार्यकर्ता सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए । जिल्ला अधिवेशनमा नेकपा माआवादी केन्द्र निकट अखिल नेपाल सांस्कृतिक संंघका अध्यक्ष किरण चित्रकार सहित ५० जना कलाकारको टोली एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा रैनादेवी छहरा, बगनासकाली क्षेत्रबाट करिव एक सय जना विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको नेकपा एमाले पाल्पाले जनाएको छ । जिल्ला अधिवेशनमा ७ सय प्रतिनिधी सहभागी भएका छन् । अधिवेशनले अध्यक्ष सहित १ सय ५ सदस्यीय जिल्ला कमिटी निर्वाचन गर्ने छ । जिल्ला कमिटीको निर्वाचन आज (शनिबार) हुने नेकपा एमाले पाल्पाले जनाएको छ । जिल्ला पार्टी अध्यक्ष नारायणप्रसाद आचार्यका अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोहन थापाको स्वागत सचिव ओमबहादुर घर्ती मगरले गरेका थिए । सर्वसम्मत रुपमा नेतृत्व चयनको लागि प्रयास भइरहेको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update