Shittalpati
नेपाली काँग्रेस पाल्पाको आयोजनामा प्रशिक्षण

पाल्पा, नेपाली काँग्रेस पाल्पाको आयोजनामा प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रमको लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला कार्यसमिति, प्रदेश सभापति र सचिव, क्षेत्रीय सभापति र सचिव, पालिका सभापति र सचिव त्यस्तैगरी भातृ तथा शुभेक्षुक संस्थाका दुई/दुई जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रशिक्षणको पहिलो दिन उपप्राध्यापक शारदा खनालले वीपीको बहुआयामिक व्यक्तित्वको विषयमा सहभागीलाई प्रशिक्षण दिए । त्यस्तै काँग्रेसलाई अवसर र चुनौतीका विषयमा पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति राजनप्रसाद पन्तले प्रशिक्षण दिएका हुन् । काँग्रेसको आदर्श र समसामयिक राजनीतिको विषयमा प्रशिक्षण केन्द्रीय प्रशिक्षक, नीति, कार्यक्रम तथा प्रशिक्षण प्रतिष्ठानका प्रमोदहरी गुरागाइले दिए । पार्टी संगठनका विषयमा प्रशिक्षण निवर्तमान जिल्ला सभापति तथा माननीय मन्त्री वीरबहादुर रानाले दिएका थिए ।

आज (शनिबार) हुने प्रशिक्षण लोकतान्त्रिक समाजबादको विषयमा उपप्राध्यापक शोभाखर न्यौपाने, काँग्रेसले गरेका कार्य र उपलब्धिका विषयमा यमलाल तिमिल्सिना, दल सम्बन्धी ऐन नियम र वैधानिक प्रावधानका विषयमा अधिवक्ता महेन्द्र पाण्डे, प्रशासनिक निकाय र विकास निर्माणमा हाम्रो भूमिकाका विषयमा पूर्व केन्द्रीय सहसचिव निजामती कर्मचारी युनियनका राजेश पन्थीले प्रशिक्षण दिने कार्यक्रम छ । त्यस्तै शनिबार नै विपक्षी संघ प्रतिवादका विषयमा उपप्राध्यापक महेन्द्र पन्थी, सामाजिक संघ संस्थासंग नेपाली काँग्रेसको भूमिकाको विषयमा नेपाली काँग्रेसका नेता रामेश्वर पन्थीले प्रशिक्षण दिनेछन् । प्रशिक्षणकै क्रममा नेतृत्व विकास र संसदिय प्रक्रियाको विषयमा उपप्राध्यापक राजिवकुमार शाह र हामी नेपाली काँगे्रस र अन्य दलका विषयमा केन्द्रीय प्रशिक्षक नीति, कार्यक्रम तथा प्रशिक्षण प्रतिष्ठानका मदन कट्टेलले दिने नेपाली काँग्रेस पाल्पाका उपसभापति तथा प्रशिक्षण विभाग प्रमुख झपेन्द्र गहिरेले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update