Shittalpati
देउवाकोे भारत भ्रमण र अपेक्षा

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नजिकिँदै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डाका विषयमा आवश्यक तयारी भइरहेको छ । तर पनि नेपाल–भारत सम्बन्धको सुमधुरता, विश्वसनीयता र सम्मानजनक आपसी निर्भरता आदर्श अपेक्षा हुन्, दुईपक्षीय सम्बन्धमा । तर त्यो सम्बन्ध व्यवहारमा कुन स्तरमा छ त्यो दुईतर्फका सरकार र जनताबीचको समझदारी तथा बुझाइबाट नापिने विषय हो । देउवा प्रधानमन्त्री भएपछिको उनको यो पहिलो भारत भ्रमण हो । यस भ्रमणबाट नेपालका धेरै अपेक्षा सम्बोधन हुने छन् भन्ने अपेक्षा छ । नेपालको प्रधानमन्त्रीले आपूm प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणका रूपमा भारतको भ्रमण गर्ने परम्परा रहिआएको छ तर पछिल्लो समयमा केही प्रधानमन्त्रीहरूबाट उक्त परम्परा तोड्ने काम भएका छन् । भारत हाम्रो मित्र राष्ट्रमात्र होइन हाम्रो देशको भूगोललाई तीनतिरबाट घेरेको छिमेकी राष्ट्र हो । भारत हामीभन्दा धेरै ठूलो र सम्पन्न राष्ट्र पनि हो । पछिल्लो समय भारत विश्वको शक्तिराष्ट्रका रूपमा उदाउँदै गएको छ । प्रधानमन्त्री देउवाको भ्रमणले दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै विगतमा समझौता भइसकेका विषयको द्रुत कार्यान्वयनका लागि पनि छलफल हुने सम्भावना रहेको छ ।

भारत छिमेकी राष्ट्र पनि भएकाले हाम्रो निर्भरता भारतसँग जोडिएको छ । हामीले प्रयोग गर्ने उपभोग्य सामग्री तथा खाद्यान्नको अधिकांश आपूर्ति भारतबाटै हुने गरेको छ । जसले गर्दा भारतसँगको हाम्रो अन्योन्याश्रितता, अविछिन्न छ । यसो भन्दैमा हामीले हाम्रो स्वाभिमानमा आँच आउने गरी भारतसँग झुक्नुपर्छ भन्ने होइन, नेपाल एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । त्यसैले आफ्नो अखण्ड र स्वतन्त्र अस्तित्वलाई जोगाएरमात्र हामीले भारतसँग व्यवहार गर्नुपर्छ । भारत छिमेकी र हामीभन्दा शक्तिशाली राष्ट्र भएकाले मात्र हामीले सधैं उसको थिचोमिचो सहनु हुँदैन । हामीले भारतबाट अनेकौ प्रकारका थिचोमिचोेहरूको सामना र प्रतिकार गर्दै आउनुपरेको छ । नेपालले भारतप्रतिको यस्तो व्यवहार बोकिरहेको अवस्थामा प्रधानमन्त्रीबाट हुन लागेको भारत भ्रमणको विशेष अर्थ रहन्छ, तर प्रधानमन्त्रीले आफ्नो यस भ्रमणलाई केवल औपचारिक भ्रमण बनाउनु हुँदैन । उनले भारतलाई यस कुरामा सचेत बनाउनै पर्छ । शिष्ट र मर्यादित कूटनीतिका माध्यमबाट भारतलाई बुझाउन सक्नुपर्छ । प्रधानमन्त्री देउवाको यस भ्रमणले द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनुका साथै नेपालको अर्थसित जोडिएका विषयलाई पनि महत्वपूर्ण सहमति कायम हुने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update