Shittalpati
खोप विस्तारमा ध्यान देऊ

पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर आतङ्क मच्चाएको छ । उक्त भाइरसका कारण हालसम्म कसैको मृत्यु भएको समाचार नआए पनि यसले पार्नसक्ने असरलाई लिएर विश्व त्रस्त छ । दक्षिण अफ्रिकाबाट सरेको सो भाइरस विश्वका २३ राष्ट्रमा फैलिसकेको छ । नेपालमा पनि हालसम्म ३ जना नागरिकमा ओमिक्रोनको संक्रमण देखापरेपछि यसले हल्लीखल्ली मच्चाएको छ । नेपाली नागरिकमा देखिएपछि यसले अब नेपालीमा समेत संक्रमण गर्न थालिसकेको स्पष्ट देखिएको छ । कोरोेनाको नयाँ उत्परिवर्तित भेरियन्ट ओमिक्रोन संक्रमण भेटिएको पुष्टि भएपछि यसले नेपाली जनजीवनलाई पनि निकै सतर्क बनाएको छ । यस अघिको कोभिड १९ को संक्रमणका लागि जसरी उच्च सर्तकता अपनाइएको थियो सोही अनरुप अहिले पनि सर्तकता अपनाउनु पर्दछ । सरकारले पनि उच्च सर्तकता सँगै खोप विस्तार गर्नमा पनि चासो देखाउन अपरिहार्य छ । संक्रमण फैलनु अगाडि नै खोपको व्यवस्थापन मिलाउन सके अत्यन्त राम्रो हुन सक्छ ।

संक्रमण रोकथाम सतर्कतामा आएको परिपक्वता र खोपको विस्तारका कारण हालसम्म आमनागरिकमा देखिएको डेल्टा भेरियन्टको संक्रमण पछिल्लो समय क्रमिक रूपमा कम हुँदै गएको कुरालाई कसैले पनि नकार्न मिल्दैन । यसले नेपाली जनस्वास्थ्यमा महामारी क्रमिक सुधार हुँदै गएको देखाएको छ । तर, नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण नेपाली नागरिकमै देखापरेपछि यो निकै जटिल र भयावह हुने आँकलन गर्न थालिएको छ । यसैबेला हामीकहाँ स्वास्थ्य सम्बन्धी सुरक्षा सर्तकता अपनाउने क्रममा पनि निकै कमी आएको छ । नागरिकमा लापरवाही गर्ने क्रम बढेको छ । सरकारीस्तरबाट पनि यसमा कुनै कडाइ हुन नसक्दा यो समस्या बढेर जाने भय देखिएको छ । जुन निकै दुःखद छ । खोपले राम्रो प्रभाव पारे पनि अझै धेरै नागरिक खोपबाट बञ्चित छन् । अहिलेसम्मको परीक्षण र अनुसन्धानमा ओमिक्रोनले खोपसेवा लिएकाहरूलाई गम्भीर बिरामी बनाउन नसकेकाले पनि खोप लगाउन बाँकी रहेकाहरुलाई तत्काल खोपको विस्तार गरी सोही अनुसार व्यवस्था गर्न सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update